१ मंसिर २०८१, शनिबार

बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना


जापानमा व्यापक बर्षा र बाढी, १३ भन्दा बढी व्यक्ति बेपत्ता

टोकियो, २१ असार । जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।

घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो । त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा उद्धारका लागि खटाइएको थियो ।

बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारकर्ताहरूले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ ।

डुवानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

गत शुक्रबार आएको बाढीका कारण कुमामोतो र कागोशिमाका झण्डै ७५ हजार मानिस प्रभावित भएका छन् ।

बाढीका कारण विद्युत, सञ्चार, सडकलगायतका सेवा अबरुद्ध भएका छन् । कुमामोतोका मात्रै छ हजार घरमा विद्युत सेवा टुटेको छ ।

प्रधानमन्त्री सिन्जो आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न विषेश टोली खटाउनुभएको छ ।

डुवानमा परेकाहरुलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जनाइएको उद्धारकर्ताहरुले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !