असोज २५, मोरङ | आफ्नै नाबालक भाइलाई अप्राकृतिक यौन सम्पर्क राख्ने दाजुलाई उनकै बहिनीले कारबाहीका लागि प्रहरीकोमा बुझाइदिएकी छिन् । घटना हो मोरङको । घटना विवरण यस्तो छ दाजु (ठूलीआमाको छोरा)सँगै पानी लिन गएको छोरो एक्कासी कुद्दै घर फर्किएको देखेर आमा झस्किइन् । तर, उनले जति सोध्दा पनि छोराले के भयो भनेर भन्नै मानेनन् ।
त्यसको भोलिपल्ट उनकी दिदी रीताले एकान्तमा लगेर फकाएर सोधिन् । बल्ल बालकले सबै कुरा खोले । भाइको कुरा सुन्दा रीता झसङ्ग भइन् । दाजुले धेरै अगाडिदेखि आफ्नो गोप्य अंग समाउन लगाएको र अप्राकृतिक यौनसम्वन्ध राखेको कुरा भाइले सुनाएपछि रीताको होसहवास उड्यो । यस्तो क्रियाकलाप दाजुले धेरै अगाडिदेखि गर्ने गरेको भाइले उनलाई सुनाए ।
सानै उमेरदेखि बाल क्लबमा आवद्ध भएर बालअधिकारको वकालत गर्दै आएकी रीता आफ्नै घरमा यस्तो घटना आइपर्दा के गर्ने होला भनी अलमलमा परिन् । एकातर्फ पीडित बनेको भाइ, अनि अर्कोतर्फ अपराधी दाइ । रीतालाई संकट पर्यो । अन्ततः उनले केही मिल्ने साथीहरुलाई यो घटनाबारे सुनाइन् । भोलिपल्ट बिहान उनले अपराधी आफ्नै दाजु किन नहोस्, सजायँ पाउनुपर्ने निचोड निकालिन् ।
त्यसपछि उनी मोरंग जिल्ला बाल कल्याण समितिको कार्यालय बिराटनगरमा पुगिन् । त्यहाँ उनले दाजु कृष्ण धिमालद्वारा आफ्नो भाइमाथि भएको अप्राकृतिक यौन दुर्व्यवहारको उजुरी साउन २३ गते दर्ता गराइन् । उजुरी दर्ताको केही दिनपछि इलाका प्रहरी कार्यालय केराबारीबाट आएको प्रहरी टोलीले कृष्णलाई पक्राउ गर्यो । प्रहरीले अभियुक्तलाई इलाका प्रहरी कार्यालय बेलबारी पठायो ।