८ मंसिर २०८१, शनिबार

अटोरिक्साबाट युवाहरु आर्थिकरूपमा सबल बन्दै


अटोरिक्सा

कञ्चनपुर, ३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वसन्त चौधरीले अटोरिक्सा चलाउन थालेपछि परिवारको खर्च सहजरूपमा चल्न थालेको छ । परिवारको खर्च चलाउनका लागि मजदूरीमा जानु परेको छैन । बैंकबाट रु आठ लाख ऋण निकालेर चौधरीले अटोरिक्सा खरिद गरेसँगै घरमै पसल सञ्चालन गर्नुभएको छ ।

“रु पाँच लाख अटोरिक्सामा र रु तीन लाख पसलमा खर्च गरेको छु”, उहाँले भन्नुभयो, “अटोरिक्सा मैले सम्हालेको छु । पसल श्रीमतीले सम्हालेकी छिन् । यसबाट सहजरूपमा परिवारको खर्च चलेको छ ।” सात महिनादेखि अटोरिक्सा चलाउँदै आएका चौधरीले बैंकबाट निकालेको आधा ऋणबापतको रकम चुक्ता गरिसक्नुभएको छ । अटोरिक्साबाट मात्रै दैनिक उहाँले रु दुई हजारभन्दा बढी रकम आम्दानी गर्दै आउनुभएको छ ।

रोजगारी केही नहुँदा अटोरिक्सा र पसल एकसाथ सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो । तत्कालीन नेकपा माओवादी पार्टीमा आबद्ध भएर एक दशकसम्म जनयुद्धमा सहभागी हुनुभएका चौधरी पार्टीले बेवास्ता गरेपछि क्षेत्रीय ब्युरो सदस्यबाट राजीनामा दिएर व्यवसायमा संलग्न भएको बताउनुहुन्छ । “जनयुद्धमा देखाएका सपनाबाट पार्टी पछाडि हटेपछि परिवार चलाउनकै लागि स्वरोजगारमा संलग्न भएँ । राजनीतिलाई थाँती राख्दै रोजगारीमा संलग्न भएपछि जीवन सहज भएको छ ।” सामाजिक कार्यमा सधैँ अग्रपङ्क्तिमा रहने चौधरी गाउँका लोकप्रिय व्यक्तिमा चिनिनुहुन्छ । “जुन पेशाले जीवन चलाउन सहज हुन्छ । त्यही पेशालाई निरन्तरता दिन्छु । राजनीतिमा फर्कने कुनै योजना छैन” उहाँले भन्नुभयो ।

वसन्तजस्तै वैदेशिक रोजगारीमा संलग्न भएर फर्केका जोनापुरकै कमलेश चौधरीसमेत अटोरिक्सा व्यवसायमा संलग्न हुनुभएको छ । मलेशियामा दुई वर्ष रोजगारी गरेर फर्केका चौधरीले भन्नुभयो, “वैदेशिक रोजगारीमा हुँदा मासिक रु २० हजार जति तलब पाइन्थ्यो । त्यसले घर खर्च चलाउनै मुस्किल हुन्थ्यो । घर फर्किएपछि रोजगारीको कुनै उपाय थिएन । केही महिना निर्माण मजदुरका रूपमा काम गरेँ ।” बजार क्षेत्रमा अटोरिक्सा चलेको देखेपछि अटोरिक्सा खरिद गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

“अटोरिक्सा खरिद गर्ने पैसा थिएन । वैदेशिक रोजगारीबाट कमाएको रकम घर खर्चमै सिद्धिएको थियो । स्वामित्वको थोरै जग्गा थियो । त्यही जग्गा बैंकमा धितो राखी रु पाँच लाख ऋण झिकँे”, उहाँले भन्नुभयो, “त्यसबाटै अटोरिक्सा खरिद गरँे । एक वर्षमै अटोरिक्सा चलाएर पूरै कर्जा तिर्न भ्याएँ । अटोरिक्साबाट कमाएको रकमले घर खर्च चलेकै छ । भविष्यका लागि बैंकमा समेत रकम जम्मा गर्न थालेको छु ।”

अटोरिक्सा चलाएर कुनै महिना रु ५० हजार र कुनै महिना रु ६० हजार जति कमाइ हुने गरेको उहाँको भनाइ छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडकको अवस्थामा सुधार आएपछि नगरपालिका क्षेत्रका प्रत्येक गाउँसम्म यातायातका साधन पुग्न थालेका छन् । घरबाटै स्थानीय बासिन्दा अटोरिक्सामा चढेर गन्तव्यमा जान थालेका छन् । विगतमा सडकको स्तरोन्नति नहुँदा हिँडेरै गन्तव्यमा पुग्नुपर्ने बाध्यता थियो ।

स्थानीयवासी अशोक चौधरीका अनुसार हाल गाउँगाउँसम्म अटोरिक्सा चल्न थालेपछि आवतजावतमा निकै सहज भएको छ । अटो सञ्चालकहरु स्वरोजगारसमेत भएको उहाँले बताउनुभयो । हिँडेर तीन घण्टा लाग्ने ठाउँमा २० मिनेटमा पुग्न सकिने भएको उहाँले बताउनुभयो । नगरपालिका क्षेत्रमा ६० भन्दा बढी अटोरिक्सा सञ्चालनमा छन् । प्रत्येक अटोरिक्साबाट नगरपालिकाले रु ३५ का दरले दैनिक कर लिने गरेको छ ।

अटोरिक्सा सञ्चालनका लागि पार्किङको निश्चित स्थान नहुँदा निकै समस्या हुने गरेको छ । “सडक छेउमा अटोरिक्सा रोक्दा ट्राफिक प्रहरीले जरिवाना तिराउँछन्”, अटो चालक मदन धामीले भन्नुभयो, “नगरपालिकाले अटो पार्किङको स्थान नतोकिदिँदा निकै सास्ती खेप्दै आएका छौँ । नगरपालिकालाई दैनिक कर तिर्दै आएका छौँ । स्थान तोकिदिनोस् भन्दै पनि आएका छौँ । बेवास्ता हुँदै आएको छ ।”

जनप्रतिनिधि आएको पहिलो वर्ष स्तरोन्नति गरिएका सडक हाल आएर जीर्ण बन्दै जान थाले पनि चासो नदिँदा बर्सातका बेला सडकमा अटोरिक्सा चलाउन नसकिने भएको अटो चालकहरुको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !