१२ आश्विन २०८१, शनिबार

विमान नभएर थुप्रै विमानस्थल प्रयोगहीन


nepali airport

नेपाल वायुसेवा निगमसंग पर्याप्त जहाज नहुँदा अनि निजी विमान कम्पनीहरुको उदासीनताका कारण देशभर रहेका करिब दुई दर्जन विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको पर्यटन मन्त्रीले बताएका छन्।

सञ्चालनमा नरहेका अधिकांश आन्तरिक विमानस्थललाई फेरि प्रयोगमा ल्याउन सरकारी लगानीको खाँचो रहेको अधिकारीहरुले बताएका छन्।

बिहीबार व्यवस्थापिका संसदको विकास समितिले संचालनमा नरहेका देशका दुर्गम भेगका विमानस्थललाई प्रयोगमा ल्याउन निर्देशन दिएपछि अधिकारीहरुको उक्त प्रतिक्रिया आएको हो।
दुर्गम

देशभर रहेका ५६ वटा विमानस्थल मध्ये हाल ३१ वटा मात्र विभिन्न अवस्थामा सञ्चालनमा रहेका छन्।

थोरै यात्रु हुने ठाउँमा निजी विमान कम्पनीले उडान नभर्ने र निगमसंग पर्याप्त जहाज नभएकै कारण वर्षौंअघि निर्माण भएका र दुर्गम स्थलहरुमा रहेका समेत सबै विमानस्थल सञ्चालनमा आउन नसकेको पर्यटन मन्त्री जीवनबहादुर शाहीले बताएका छन्।

“पूर्वाधारहरु खराब भएर अथवा अवतरण गर्न नसक्ने भएर विमानस्थल सञ्चालनमा नआएका होइनन् कि, जहाज नभएर ती सञ्चालनमा आउन नसकेका हुन्,” उनले भने।

भौगोलिक विकटताका कारण सडक सञ्जालले नछोएको र हवाई यातायातमा मात्र निर्भर देशका विभिन्न ६ स्थानमा सरकारले थप विमानस्थल निर्माण गर्न लागेको समेत उनले जानकारी दिए।

प्राविधिक समस्या

नागरिक उड्डयनसंग सम्बद्ध प्राविधिक अधिकारीहरुका अनुसार २९ वटा विमानस्थल घाँसे मैदान प्रकृतिका छन् भने अन्य केहीमा प्राविधिक उपकरण जडान भएपछि मात्र ती विमानस्थललाई सञ्चालनमा ल्याउन सकिनेछ।

भौतिक पूर्वाधारमा सरकारले विशेष ध्यान दिनु पर्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको उड्डयन सुरक्षा विभागका सहसचिव सुरेश आचार्यले बताए।

उनले भने, “कतिपय विमानस्थल घाँसे मैदान प्रकृतिका छन्। त्यहाँ हामीले कालोपत्र गर्न सकेका छैनौं। २५ वटा विमानस्थलमा मात्र कालोपत्र गरेका छौं। यो आर्थिक वर्षमा दुई चार वटा विमानस्थलमा कालोपत्र गर्ने योजना छ।”

करोडौं रुपिँया खर्च गरेर निर्माण गरिएका विमानस्थलको पूर्वाधार गुणस्तरीय नभएसम्म खासगरी दुर्गम क्षेत्रका यात्रुहरु सुविधा लिनबाट बञ्चित नै रहने देखिन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !