१३ बैशाख २०८१, बिहिबार

बन्धक बनाएर बालिकामाथि दैनिक बलत्कार


सिन्धुलीः एक ६३ वर्षीय वृद्धले १५ वर्षीया बालिकालाई एक वर्षदेखि घरमा बन्धक बनाएर बलात्कार गर्दै आएको आरोप लागेको छ ।
जिल्लाको बेलघारी गाविस–१ छरछरेकी ती बालिकालाई कमलामाई नगरपालिका–११ बथानचौडीका अन्दाजी ६३ वर्षीय युवराज लुइँटेलले एक वर्षदेखि बलात्कार गर्दै आएको आरोप लागेको हो । लुइँटेल स्थानीय ब्रामणहरुका पुरोहित समेत हुन् ।

लुइँटेलले बालिकालाई गत चैतदेखि एक वर्षसम्म आफ्नै घरमा कमलरीकारुपमा राखेर दैनिक बलत्कार गर्ने गरेको पीडित बालिकाले बताएकी हुन् ।

बुबा सानै उमेरमा बितेपछि गरिब तथा विपन्न वर्गकी ती बालिकालाई आमाले गत २९१७ चैतबाट लुइँटेलको घरमा कामदारकारुपमा पठाएकी थिइन् ।

तर, लुइँटेलले विपन्नताको फाइदा उठाउँदै बालिकामाथि एक वर्षदेखि बन्धक बनाएर बलात्कार गर्दै आएको उनले बताइन् । एक वर्षमा दुई पटक घातक औषधि खुवाएर बच्चा फ्याक्न लगाएको पीडित बालिकाले बताइन् ।

‘म उसको लुइँटेलको घरमा बस्न थालेदेखि मेरो इज्जत लुटियो । म माथि राति, दिउँसो, साँझ बिहान नभनी उसले अत्याचार ग¥यो’, उनले भनिन्, ‘दुई पटक विषजस्ता औषधि खुवाएर गर्भ फ्याक्न लायो । कसैलाई भनेमा मारिदिने धम्की दिएपछि मैले भन्न सकिन ।’

लुइँटेलले बालिकालाई घरको कोठामा थुनेर परिवारका अन्य सदस्यले थाहा नपाउने गरी दैनिक बलत्कार गर्ने गरेको बताइएको छ । जंगल र खेतमा घाँस काट्न जाँदा समेत आफूलाई नछाडेको पीडित बालिका बताउँछिन् । लुइँटेलले बालिकालाई कसैलाई भने, जंगलमै मारिदिन्छु भन्दै पटक पटक घाँटी थिची मार्ने प्रायास गरेका खुलेको छ ।

आफ्नो कर्तुत सार्वजनिक हुने डरले लुइँटेलले बालिकालाई विषसमेत खुवाएर हत्या गर्न खोजेपछि घटना सार्वजनीक भएको पीडित बालिकाकी भाउजूले बताइन् ।

विष खुवाउँदा बालिकाले चिच्चाएर बचाउन खबर गरेपछि अन्य व्यक्तिहरुले थाहा पाएर परिवारलाई खबर गरेका थिए ।

सोधपुछका क्रममा उनीमाथि २०७१ चैतदेखि ०७२ साउनसम्म घरभित्रै राखेर बलत्कार भएको थियो । बलात्कृत भएपछि उनी बेहोस हुने, बर्वराउने र एकहोरो हुने लगायतको मानसिक समस्या देखिएपछि दाजुले बागलुङ लगेर उपचार गराइ ल्याएका थिए ।

बलात्कृत भएपछि लुइँटेलको घर नजिकै अर्काे घरमा शरण लिएर बस्दै आएका आमा र दाजु भाउजूसँग फागुन २४ बाट बस्न गएको अवस्थामा पनि बलत्कार प्रयास भएपछि यो घटना खुलेको हो ।

त्यसपछि पीडितका दाजुले जिल्ला प्रहरी कार्यालय र नेपाल मगर संघ लगायत संस्थामा उजुरी गरेका थिए ।

आफुहरुलाई घटना सार्वजनीक नगर्न भन्दै स्थानीय शिक्षकहरु सन्तोष गिरी, डिल्लीराम बराल र माधव पौडेलले लुइँटेलबाट ३० हजार क्षतिपूर्ति दिने भन्दै सुरुमा ५ हजार रुपैयाँ दिएको पनि खुलेको छ ।

बालिकाको स्वास्थ्य जाँच गर्दा उनको पाठेघरमा समेत गम्भीर समस्या आएको चिकित्सकहरुले बताएका छन् । लामो समयदेखि बलत्कार भएकाले उनको मानसिक सन्तुलन समेत ठीक छैन । उनको स्वास्थ्यमा गम्भीर असर परेको चिकित्सकहरुले जनाएका छन् ।

बलात्कार आरोपी लुइँटेललाई बालिकाको जाहेरी लगत्तै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले अन्नपूर्णलाई बताए ।

‘लुइँटेलमाथि बन्धक बनाएर बलत्कार गरेको आरोप लागेकाले त्यस विषयमा अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘घटनाबारे केही दिनभित्रै हामी निष्कर्षमा पुग्छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !