४ असार २०८१, सोमबार

ऐतिहासिक मन्दिर पुनःनिर्माण


Nepalpatra

बागलुङ, २० असार । पर्यटकीय लेक घुम्टेमा अवस्थित सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण गरिएको छ । दुई महीनामा मन्दिर पुनःनिर्माण सकिएको उपभोक्ता समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो ।

पुनःनिर्मित मन्दिरमा बिहीबार सिद्ध र भैरवको मूर्ति प्रतिस्थापन गरिएको छ । ऐतिहासिक महत्वको मन्दिर पुनःनिर्माणका लागि पर्यटन मन्त्रालयले रु २० लाख उपलब्ध गराएको थियो । सदियौँदेखि झुपडीमा रहेका मन्दिरलाई स्थानीयवासीले विसं २०५६ मा आधुनिक र कलात्मक तरिकाले पुनःनिर्माण गरेका थिए ।

घुम्टेको शिरमा अवस्थित सिद्ध र भैरवको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । द्वापरयुगमा पाँच पाण्डव घुम्टेमा वनबास जाँदा त्यहाँ तपस्यारत बालसिद्ध बाबाको दर्शन गरेका दिनदेखि त्यहाँ पूजाआजा हुन थालेको बताइन्छ । दुवै मन्दिर शिखर शैलीमा बनेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । “चट्टानयुक्त चुचुरोमा ठूला मन्दिर बनाउन सम्भव थिएन”, उहाँले भन्नुभयो, “साना दुईतले तर कलात्मक मन्दिर बनेका छन् ।”

मन्दिरको गारोमा स्थानीय ढुङ्गा र झ्यालढोकामा सालको काठ प्रयोग गरिएको छ । छानोसमेत ढुङ्गाले छाइएको छ । तीन हजार १२० मिटरको उचाइमा रहेको मन्दिर पुनःनिर्माणमा चाहिने बालुवा, ढुङ्गा, सिमेन्ट आदि खच्चरले बोकेका थिए ।

सडक नपुगेका कारण सो स्थानमा निर्माण सामग्री पु¥याउनै हम्मे परेको थियो । तलैबाट अन्नपानी लगेर गएका मजदूर रातदिन नभनी पुनःनिर्माणमा खटिएका थिए । “भौगोलिक कारणले कठिन भए पनि समयमै पुनःनिर्माण सकियो”, अध्यक्ष बस्नेतले भन्नुभयो, “ढुवानी र मजदूर खटाउँदा बढी खर्चिलो भयो ।” असारभित्रै सक्ने लक्ष्यका साथ समितिले कामलाई तीव्र पारेको थियो ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे धार्मिक र पर्यटकीय महत्व बोकेको स्थल हो । वर्षेनी वैशाख पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्ने गर्छ । विगत सात वर्षदेखि नयाँ वर्षमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ ।

गण्डकी प्रदेशको नयाँ पर्यटकीय गन्तव्य सूचीमा परेको घुम्टेको पर्यटन गुरुयोजनाको काम पनि अघि बढाइएको छ । यसअघि पर्यटन मन्त्रालयकै सहयोगमा पदमार्ग निर्माणलगायतका काम गरिएका थिए ।

आगामी आर्थिक वर्षका लागि पनि पर्यटन मन्त्रालयबाटै रु २० लाख बजेट विनियोजन भएको छ । उक्त बजेट पनि पूर्वाधार निर्माणमा खर्च गरिनेछ । यस स्थललाई सङ्घीय सरकारकै पर्यटन गन्तव्य सूचीमा पार्न पहल गरिनाका साथै ‘गुराँसको पहाड’ र नयाँ वर्षको दिनलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग भइरहेको छ ।

घुम्टेको घना जङ्गलमा विभिन्न प्रजातिका गुराँस फुल्ने गर्छन् । गुराँस फुल्ने याममा पर्यटक लोभ्याउन ‘गुराँस उत्सव’ गर्ने गरिन्छ । विसं २०७० मा भएको मैत्रीपूर्ण पर्यटन भेलापछि यहाँ पर्यटकीय गतिविधि बढेका हुन् । केन्द्रसँग घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि छ । बागलुङ सदरमुकामदेखि तीन घण्टा मोटर र चार घण्टाको पदयात्रापछि घुम्टे पुगिन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !