६ आश्विन २०८१, आइतबार

विद्युत् पर्याप्त नआएपछि अस्पतालको सेवा प्रभावित


अस्पताल

दमक, १२ असार । एक सातादेखि झापाको दमकस्थित सरकारी दमक अस्पतालमा विद्युत् पर्याप्त नआएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा जडित विद्युत्मा एक्कासि भोल्टेज पर्याप्त नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित हुनपुगेको छ । विद्युत् सेवा प्रभावित भएपछि सर्वसाधारण सेवाग्राही मारमा परेका छन् ।

भोल्टेज आवश्यकताअनुसार प्रवाह नभएपछि अस्पतालबाट उपलब्ध हुने ल्याबसहित एक्सरे, इसिजीलगायतका सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा मनिषकुमार शर्माले बताउनुभयो । उहाँले विद्युत् नियमितका लागि स्थानीय सरकार र विद्युत् प्राधिकरणमा गुनासो राखिए पनि हालसम्म सुनुवाइ नहँुदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित हुनपुगेको बताउनुभयो । ल्याब, एक्सरे, इसिजीसहित नियमित खोपका सेवासमेतमा सिफारिस गरी पठाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

दमक–१ स्थित जिल्लास्तरीय सो सरकारी अस्पतालमा दैनिक २०० बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन् । अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईका अनुसार विद्युत् आपूर्तिमा समस्या भएपछि अस्पताल ‘रिफर सेन्टर’ बन्न पुगेको छ । ल्याबको उपकरण नचल्दा अस्पतालका चिकित्सकले स्वास्थ्य जाँच मात्र गरिआएको र ल्याबका लागि भने अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो । विद्युत् गडबडीले ल्याबका उपकरणमा समेत खराबी आएको उहाँले बताउनुभयो ।

अस्पतालमा विद्युत् प्रवाहमा भएको समस्याको समाधान गर्न आफूहरु लागिरहेको अस्पताल सञ्चालक समिति अध्यक्ष तथा दमक नगर उपप्रमुख गीता अधिकारीले बताउनुभयो । विद्युत् प्राधिकरणका इञ्जिनीयर लागेर काम गर्दा पनि अहिलेसम्म समस्या नै पत्ता लाग्न नसकेको र सञ्चालन गर्न पहल भइरहेको उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !