६ आश्विन २०८१, आइतबार

नगरसभा स्थगित गर्न माग


Nepalpatra

लहान, १० असार । आफुहरुसँग कुनै सल्लाह नै नगरी गुपचुप रुपमा नगरसभा गर्न खोजिएको भन्दै सिरहाको सुखीपुर नगरपालिका उपपप्रमुखसहित पाँच वडाध्यक्षले नगरसभा स्थगनको माग गर्नुभएको छ ।

नगरप्रमुख रामऔतार यादवले सरसल्लाह नगरी आगामी आर्थिक वर्ष २०७६/०७७ को नगरसभा गर्न लागेको भन्दै उपप्रमुख रेणुदेवी साहसहित वडाध्यक्ष हरिवंश महतो, रामेश्वर साह, शैलेन्द्र कामती, विजयकर्ण दास र रामलखन महतोले प्रेस विज्ञप्ति जारी गरी नगरसभा स्थगित गर्न माग गर्नुभएको छ ।

उपप्रमुख साहले आव ०७४/०७५ र ०७५/०७६ को हरहिसाब पटक पटक सार्वजनिक गर्न आग्रह गर्दासमेत नगरप्रमुख यादवले हालसम्म यसतर्फ गम्भीर नभएको गुनासो गर्नुभयो । सुखीपुर नगरपालिकामा कूल १० वडा रहेको छ ।

चरेससहित दुई पक्राउ

प्रहरीले लागुऔषध चरेससहित सिरहाको धनगढीमाई नगरपालिकाबाट दुईलाई पक्राउ गरेको छ । प्रहरी विशेष टोलीले धनगढीमाई नगरपालिका–१० बाट चरेससहित धनगढीमाई नगरपालिका–११ निवासी रामभगत महतो र सोही नगरपालिका–१२ निवासी रामेश्वर महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट १७ प्याकेटमा राखेको करीब साढे आठ किलो चरेस बरामद भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !