काठमाडौँ, ९ असार । कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसङ्गतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका बारेमा आजै छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण गराउँदै उहाँले नौ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो रु भन्नुभयो ।
“भूमाफिया र बिचौलियाले सबैलाई नियन्त्रणमा लिनसक्छन्, त्रिभुवन विश्वविद्यालयको घटना यस्तै प्रकृतिको हो, यसलाई तोड्नुपर्छ नत्र विकास र समृद्धि कागजमै सीमित हुन्छ, यो गम्भीर विषयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पनि ध्यानाकर्षण गराउँछु”–सांसद सापकोटाले भन्नुभयो ।
सांसद मीनबहादुर विश्वकर्माले प्रकाश सपूतले गाएको गलबन्दी बोलको गीत अर्कै कलाकारले गाएको भनी जातीय भेद्भावका दृष्टिले अपमान गर्न खोजेकाले भेद्भाव गर्न खोज्नेलाई साइबार कानून बमोजिम कानूनी कारवाही हुनुपर्ने माग गर्नुभयो ।
कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको घटनामा उहाँ थारु भएकैले अस्पतालमा पनि नेल लगाएर उपचार गरिएको सांसद विश्वकर्माको आरोप थियो । सांसद एकवाल मियाँले जनयुद्धका आन्दोलनकारी संसद्मा बस्ने तर थरुहटका आन्दोलनकारी जेलमा राखिनु कतिसम्म न्यायसङ्गत छ भनी प्रश्न गर्नुभयो ।
सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयक विरुद्धको आन्दोलन विसं २०६२÷६३ पछिको ठूलो आन्दोलनका रुपमा अघि बढेकाले त्यसमा भएका सबै असान्दर्भिक दफा खारेज गर्न माग गर्नुभयो । विधेयक प्रदेशसभाको अधिकारलाई वञ्चित गर्ने गरी आएको उहाँको आरोप थियो ।
गुठी जग्गासँग मात्र सम्बन्धित नभएको तर सुकुम्वासीलाई आवास दिने विषयलाई यहाँ जोड्न नहुने सांसद श्रेष्ठको भनाइ थियो । सांसद खगराज अधिकारीले गण्डकी प्रदेशको सदरमुकाम जोड्नेद्वारका रुपमा रहेको पुल जीर्ण भइसकेको र सो पुल भत्केमा सदमुकाममा नाकाबन्दी हुनसक्ने भएकाले यथाशीघ्र बनाउन माग गर्नुभयो ।
सांसद जिपछिरिङ लामाले लोकसेवा आयोगले समावेशी सिद्धान्तअनुसार विज्ञापन नगरेकाले खारेज गर्न माग गर्नुभयो । विज्ञापन खारेज नभए फेरि देशमा आन्दोलन शुरु हुने भएकाले बेलैमा सचेत हुन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद महेश्वरजङ्ग गहतराजले तराई क्षेत्रमा वर्षाका कारण मात्र नभई भारतका विभिन्न क्षेत्रमा निर्माण भएका बाँध र अग्लो सडकले नेपाली भूमि डुबानमा पर्न थालेकाले समस्या समाधानतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सांसद गगनकुमार थापाले वन जङ्गल फाँडेर होटल, रिसोर्ट र सफारी बनाउने सोच गलत भएकाले ऐनमा नभएको विषय मन्त्रीले कार्यविधिमा थपेर केही साहुलाई मात्र पोस्न खोजेको आरोप लगाउनुभयो । । ऐनलाई छलेर चोर बाटोबाट कार्यविधि ल्याइएको उहाँको भनाइ थियो ।
यसअघि संसदीय समितिले गरेको निर्णय विपरीत कार्यविधि आएकाले यस विषयमा अध्ययन गर्न समिति र मन्त्रालयलाई सांसद थापाले आग्रह गर्नुभयो । सांसद पोल्देनछोपाङ गुरुङले मनाङ जाने पुल बाढीले बगाएकाले बेलिब्रिज छिटो हाल्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।
मनाङ सदरमुकामको घट्टेखोलाको पुलमा समेत बाढीले असर गरेकाले जीर्णोद्वार गर्न उहाँले ध्यानाकर्षण गराउनुभयो । सांसद रामबहादुर बुढाले कर्णाली प्रदेशका जनताको आयआर्जन बढाउन सिञ्चाइको व्यवस्थाका लागि बाँध बाँध्ने र विद्युत् निकाल्ने योजनामा स्थानीयवासीलाई शेयर दिनुपर्ने माग गर्नुभयो । (रासस)