बागलुङ, ३१ जेठ । मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप (ओभरले) को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।
धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थलसमेत बन्द छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको अवधि गुज्रन लागेको थियो ।
विमानस्थलको दक्षिणपट्टि २३० मिटर जमीनको तह मिलाउने (ग्रेड सुधार) को काम सकिएको छ । पर्खाल, नाली, घेराबार र तटबन्धको कामले पनि तीव्रता पाएको छ । जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आउँदो साताभित्र धावनमार्ग सुधारको काम सकिनेछ । असार ८ गतेदेखि विमानस्थलमा नियमित उडान हुने कार्यालय प्रमुख भानु कोइरालाले बताउनुभयो ।
धावनमार्ग कालोपत्र र ‘ग्रेड’ सुधारले जहाज उडान तथा अवतरणमा सहजता थपिने उहाँको भनाइ छ । धावनमार्ग जीर्ण हुँदा र ‘ग्रेड’ नमिल्दा दुर्घटनाको जोखिम थियो । विमानस्थलभित्रको भिरालो जमीनलाई सम्याएर धावनमार्गकै तहमा ल्याइएको निर्माण कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताउनुभयो ।
“धावनमार्गको काम एक साताभित्रै सकिन्छ”, उहाँले भन्नुभयो, “असार मसान्तसम्ममा बाँकी सबै काम सक्छौँ ।” रातदिन नभनी मजदूर र व्यवस्थापन पक्ष काममा खटिएको उहाँको भनाइ थियो ।
नागरिक उड्डयन प्राधिकरणले गत असोजमा एपेक्स निर्माण कम्पनीलाई विमानस्थल सुधारको जिम्मा दिएको थियो । रु नौ करोडमा सम्झौता भएको योजनाको काम फागुन १५ गतेदेखि मात्र शुरु भएको थियो ।
चिसो र हिमपातका कारण ढिलो गरी काम शुरु भएको निर्माण कम्पनीले जनाएको छ । जोमसोममा हावाहुरी चल्ने र मौसिम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नुपरेको कार्यालयले जनाएको छ ।
पोखरा–जोमसोम हवाइमार्गमा तारा, यति, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटक र तीर्थयात्रीको चापले वैशाख–जेठ महीना विमानस्थल बढी व्यस्त हुने गर्छ । पोखरादेखि १८ मिनेटको उडानमा जोमसोम पुगिन्छ । जहाजबाट मुस्ताङ जाने पर्यटक यतिबेला म्याग्दीको बेनी हुँदै सडकमार्गबाट मुस्ताङ पुगेका छन् । (रासस)