२४ मंसिर २०८१, सोमबार

रवि लामिछानेसँग रुपन्देहीमा बयान सुरु


रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसँग बयान लिन थलिएको हो ।

सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा प्रहरीको हिरासतमा रहेका उनलाई मंगलबार कास्कीको पोखराबाट बुद्ध एयरको विमानमार्फत भैरहवा ल्याइएको हो । बयान लिएपछि उनलाई कास्की नै पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।

सुप्रिम सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी तरिकाले लगेको पाइएको छ । उक्त सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा रहेको बैंक खातामा गएको देखिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनीमाथि अनुसन्धान जारी छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई कारबाही सिफारिस गरेको थियो ।

समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !