४ आश्विन २०८१, शुक्रबार

रुप्सेमा रमाउनेको भीड


Nepalpatra

ध्रुवसागर शर्मा, गलेश्वर, २१ जेठ । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ ।

बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै गएको हो ।

विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । रुप्से झरना र अन्धगल्छी उच्च पर्यटकीय सम्भावना भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन् । पर्यटकहरुलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन् ।

झरनामा रमाउनका लागि आएका पर्यटकहरु सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ । रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यू टावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको छ ।

बेनीका युवा सुवर्ण केसीले रुप्सेमा रमाउन आउनेहरुलाई लक्षित गरी रेष्टुरेण्ट पनि सञ्चालन गरेपछि रातको १० बजेसम्म यहाँ पर्यटकहरुको भीड लाग्ने गर्छ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । ती पर्यटकहरु यही झरना देखेर लोभिने गर्छन् ।

विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । साबिकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग तथा भ्यू टावर निर्माण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले आधारभूत आवश्यकताको पूर्वाधार विकासमा गाउँपालिकाले अब प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताउनुभयो । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महीनामा स्थानीयवासीले बोको बलि चढाउने गर्छन् । झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ ।

बेनी– लभ्ली हिल पदमार्गको निर्माण कार्य तीव्र

म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिल जाने पदमार्गको निर्माण तीव्र गतिमा अघि बढेको छ । म्याग्दीको सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तव्यका रुपमा विकसित भइरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्ली हिल पुग्ने पदमार्गको निर्माण दुई सातायता तीव्र गति भइरहेको हो । यसअघि आवश्यक जनशक्तिको अभाव तथा विविध कारणले सो पदमार्गको निर्माण रोकिएको थियो ।

म्याग्दी नदीमाथि रहेको बेली ब्रिज नजीकबाट लभ्ली हिलसम्म पुग्ने पदमार्गको निर्माण बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा भइरहेको छ । पर्यटन विकासका लागि लभ्ली हिलसम्म पुग्नका लागि मोना–बेनी–लभ्ली हिल पदमार्ग नामकरण गरिएको सो पदमार्गको शिलान्यास गत भदौ ८ गते गरिएको थियो ।

बेनी–बगरफाँट सडक नजीकबाट शुरु गरिएको पदमार्गको ढलानसहित आवश्यक संरचना बनाउने कार्य धमाधम भइरहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउने अभियानअन्तर्गत निर्माण गरिने पदमार्गका लागि बेनी नगरपालिकाले ५० प्रतिशत, मोना आइसीले ४० र म्याग्दी उवा सङ्घले १० प्रतिशत रकम बेहोर्ने त्रिपक्षीय सहमति भएको थियो ।

हालसम्म मोना आइसीले सम्झौताअनुसार १५ लाख उपलब्ध गराइसकेको मोना आइसीका उपाध्यक्ष एवम् पदमार्ग संयोजक ओमनारायण जुग्जालीले बताउनुभयो । ३९५ मिटर उकालोमा एक दशमलव आठ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलिङसहितको पदमार्ग निर्माण गर्न मोनाले करीब ३२ लाख आर्थिक सहयोग गर्नेछ । पदमार्गको प्रारम्भिक चरणमा रु ५७ लाख आठ हजार ९०६ लागत अनुमान गरिए पनि हाल ७९ लाखमा पदमार्ग सम्पन्न गर्ने गरी काम भइरहेको छ । पदमार्गको करीब २०० मिटर निर्माण बाँकी रहेको छ ।

पदमार्गसँगै नगरपालिकाले लभ्ली हिलमा युद्ध स्मारिका पार्कसहित डिभिजन वन कार्यालयले समेत वनवाटिका बनाइरहेको बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँले पदमार्गलाई नगरपालिकाले समेत प्राथमिकता दिएको बताउनुभयो । सामुदायिक वन उपभोक्ता समितिलाई समेत आम्दानी हुने गरी फलफूलका बिरुवाका साथै ठाउँठाउँमा आवश्यकताअनुसार सानो बगँैचा बनाएर विश्रामस्थल निर्माण गर्ने योजना छ ।

बेनीको शिरमा अवस्थित लभ्ली हिलमा नगरपालिकासहित विभिन्न सङ्घसंस्थामार्फत आरामदायी बेञ्च, गोलघर (भ्यू प्वाइन्ट), चौतारीलगायतका संरचना बनेका छन् । बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम र भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !