१३ आश्विन २०८१, आइतबार

दुई पूर्वकार्यकारी प्रमुखले वैदिक नेपाल अभियानको नेतृत्व गर्ने


Nepalpatra

काठमाडौँ, २४ वैशाख । देशको कार्यकारी प्रमुख भई शासन सञ्चालन गरिसक्नुभएका दुई पूर्वप्रधानमन्त्रीले वैदिक नेपाल अभियानको नेतृत्व गर्नुहुने भएको छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशनका नाममा विगत ११ वर्ष अघिदेखि शुरु भएको अभियानमै आबद्ध भएर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायधीश खिलराज रेग्मीले सल्लाहकारका रुपमा अभियानको नेतृत्व गर्न लाग्नुभएको हो ।

यसैगरी अभियानको संरक्षकका रुपमा हरिहर आश्रम देवघाटका १००८ स्वामी ज्ञानानन्द सरस्वती रहनुहुने जनाइएको छ । फाउण्डेशनको ११औँ स्थापना दिवस एवं गत फागुन १७, १८ र १९ मा सम्पन्न तीनदिने वैदिक तथा आधुनिक विज्ञान महासम्मेलनको प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले समाज उत्थान एवं वैदिक संस्कृति भनेको कर्मकाण्ड मात्र हो भन्ने सोचबाट जनमानसलाई माथि उठाउन आफू यो अभियानमा समावेश भएको जानकारी दिनुभयो । “वैदिक र आधुनिक विज्ञानको समन्वयमा देशले धेरै उपलब्धि हासिल गर्न सक्छ, सुखी नेपाली र समृद्ध नेपालका लागि वैदिक सभ्यताको पुनर्जागरण आवश्यक छ, शिक्षा प्रणाली सही नभएकाले असल नागरिक पाउन मुस्किल भएको छ, यसका लागि वैदिक शिक्षा पद्धतिमा फर्कनु आवश्यक भइसकेको छ”, उहाँले भन्नुभयो ।

सिङ्गापुर, डेनमार्क, अष्ट्रेलियालगायत देशले शिक्षा पद्धतिको सुधारबाट उन्नति गरेको उदाहरण पनि पूर्वअध्यक्ष रेग्मीले प्रस्तुत गर्नुभयो । विदेशीका लागि कामदार उत्पादन गरिदिने शिक्षा प्रणालीबाट सृजशीलतामा रुपान्तरण गरिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

फाउण्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले कानून, शिक्षा, स्वास्थ्य, कृषि, अर्थशास्त्र, प्रशासन, वास्तु, रक्षा, सञ्चार, सङ्गीत तथा कला, धर्म तथा संस्कृति, सर्वोत्कृष्ट राजनीतिशास्त्र गरी १२ क्षेत्रमा वैदिक दर्शनको भावनाअनुरुप सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।

वैदिक दर्शनको भावनाअनुरुप सुधार गर्न सके मानिसले रोग, विभिन्न प्रकारका दुःखलगायत विविध समस्याबाट मुक्ति पाई सुखी जीवनयापन गर्न सक्ने व्यावहारिक रुपमा प्रमाणित भइसकेको उहाँको भनाइ थियो । कार्यक्रममा फाउण्डेशनको वैदिक अभियानका संरक्षक १००८ स्वामी ज्ञानानन्द सरस्वतीले सबै क्षेत्रलाई यही भूमिमा सिद्ध गरिएको वैदिक ज्ञानको युगमा फर्काउन आफू अभियानमा आबद्ध भएको जानकारी दिनुभयो ।

महर्षि वैदिक व्यवस्थापन विश्वविद्यालय अमेरिकाका निर्देशक डा किङ्स्ली ब्रुक्सले विश्वलाई वैदिक युगमा फर्काउने अभियानको नेतृत्व गर्न नेपाललाई विभिन्न तरिकाले सहयोग गरिएको बताउनुभयो । ११ वर्षदेखि नेपालमा यो अभियानको नेतृत्व गर्नुहुने बाँस्कोटालाई विश्वविद्यालयले निकट भविष्यमै विद्यावारिधिको उपाधि दिन लागिएको घोषणा पनि उहाँले गर्नुभयो ।

पूर्वमन्त्री रामचन्द्र अधिकारी, पूर्वसचिव विजयराज भट्टराई, सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सेना, संयुक्त राष्ट्र सङ्घका लागि पूर्वस्थायी नेपाली प्रतिनिधि डा जयराज आचार्य, शिक्षाविद् डा विद्यानाथ कोइरालालगायतले अभियानमा सहभागी भएर वैदिक नेपाल अभियानका लागि लाग्ने प्रतिबद्धता जनाउनुभएको जानकारी गराइएको थियो ।

सो अवसरमा वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई, फाउण्डेशनका संस्थापक सञ्चालक चन्द्रकुमार शर्मा, महर्षि सन्देश स्मारिकाका सम्पादक भरतराज पौडेल, फाउण्डेशनका सञ्चालक समीक्षा बाँस्कोटालगायतले वैदिक नेपाल अभियानका लागि हाल देशभरका ८० गुरुकुलमा राष्ट्र शान्ति एवं विश्व शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेक, एक दर्जन विद्यालयमा चेतनामा आधारित शिक्षा, भावातीत ध्यान एवं सिद्धि सूत्रको अभ्यास तथा सिकाउने काम भइरहेको बताउनुभयो ।

आधुनिक विज्ञानमा स्नातकोत्तर अध्ययन गरेका भारतका एक युवालाई पूर्वीय दर्शनका ज्ञान लिने भोक जागेपछि उहाँ बदरिकाश्रम ज्योतिर्मठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीको आश्रममा ११ वर्षसम्म बसेर वैदिक ज्ञान हासिल गर्नुभयो । गुरुदेवकै आदेशअनुसार महर्षि महेश योगीको नाममा उहाँले विश्वका धेरै देशमा वैदिक ज्ञानको प्रचार प्रसार गर्नुभयो । यसको केन्द्र स्विट्जरल्याण्डलाई बनाइएको छ । यहाँबाट विश्व शान्ति राष्ट्रका नामले वैदिक प्रशासन सञ्चालन भइरहेको छ । यसको नेतृत्व महाराजाधिराज राम (डा टोनी नाडर) ले गरिरहनुभएको छ ।

महेश योगी विसं २०३१ मा नेपाल आउनुभएका बेला खुलामञ्चमा हजारौँलाई भावातीत ध्यान सिकाउनुभएको थियो । त्यसबेला उहाँले ‘नेपालले वैदिक ज्ञानमा विश्वलाई नेतृत्व गर्न सक्छ’ भन्नुभएको थियो । उहाँको त्यही वाक्यका आधारमा वैदिक नेपाल अभियान बनाउन लागिएको हो । हाल विश्वका १९२ देशमा यो ज्ञान दिइन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !