१३ आश्विन २०८१, आइतबार

सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा


Nepalpatra

गोरखा, २२ वैशाख । गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन शुरु गरिएकोे होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको प्रवद्र्धन गर्दै त्यहाँका कलासंस्कृति र पहिचानसमेतको प्रचार–प्रसारका लागि होमस्टे सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । गुरुङ जातिको बाहुल्यता रहेको आरुबोटेमा शुरु गरिएको उक्त होमस्टेमा बास बस्न पुग्ने पाहुनाहरुले गुरुङ समुदायको कौडा, रोधीलगायत कलासंस्कृतिसँग समेत रम्न र रमाउन पाउने अध्यक्ष गुरुङको भनाइ छ ।

“सिरानचोक गाउँपालिकामै पहिलो पटक होमस्टे शुरु भएको हो”, उहाँले भन्नुभयो, “यहाँका समुदायको आर्थिक आयआर्जनका वृद्धिका लागि पनि यसले सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।” ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि होमस्टेले महत्वपूर्ण टेवा पु¥याउने अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाभित्रै पहिलो पटक होमस्टे सञ्चालनमा आएकाले यसको प्रचारप्रसारलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।

“सिरानचोक गाउँपालिकाभित्र रहेका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका क्षेत्रहरुको प्रचार–प्रसार गर्न र यहाँ आउने पर्यटकहरुलाई खानाबस्नको सेवासुविधा पु¥याउने उद्देश्यले होमस्टे सञ्चालनमा गरिएको हो,” उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकहरुले इमल पोखरी, क्षण गुफा, ऐतिहासिक सिरानचोक गढी दरबारको समेत अवलोकन गर्न पाउनेछन् ।”

त्यस्तै होमस्टेमा पुग्ने पाहुनाहरुले माउन्टेन किलरका रुपमा चिनिने मनासलु हिमाललगायत गणेश हिमाल, बौद्ध हिमालको दृश्यावलोकन गर्नसमेत पाउने अध्यक्ष गुरुङको भनाइ छ । होमस्टे सञ्चालनका लागि स्थानीयवासीले आफ्नै पहलमा रु ५० लाखभन्दा बढीको लागतमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नका लागि सामुदायिक भवनसमेत निर्माण गरेका छन् ।

होमस्टेमा आउने पाहुनालाई स्वागत गर्नका लागि अहिले प्रवेशद्वार निर्माण गर्ने तयारी भए पनि आर्थिक अभावका कारण समस्या हँुदै आएको उहाँले बताउनुभयो । “अझै भौतिक पूर्वाधार निर्माणको काम धेरै नै बाँकी छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “सामुदायिक भवनको कम्पाउण्डवालदेखि प्रवेशद्वारसम्म निर्माण गरी हाल्नु पर्नेछ, तर स्रोत जुटाउन नसक्दा अप्ठ्यारो परेको छ ।”

क्होला होमस्टेमा आउने पर्यटकहरुले स्थानीय उत्पादन हुने कोदो ढिँडो, लोकल कुखुराको मासु, सिस्नो, भटमास, टिमुरको अचारलगायत परिकारको स्वाद चाख्न पाउनेछन् । होमस्टेमा बस्न आउने पर्यटकहरुले एक दिनको रु ९०० तिनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । “पहिलो रात खान, बस्न र बिहानको नास्ताका लागि रु ९०० तिर्नुपर्छ त्यसपछि थप दोस्रो रात बस्न चाहने एक जनाकोे ८०० र थप अन्य दिन बस्न चाहेमा रु ७०० मा खानबस्न पाइने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष गुरुङले होमस्टेमा अहिले केही समयका लागि थोरै मात्र पर्यटक राख्न सक्ने भए पनि आउँदो असोज–कात्तिक महीनादेखि दैनिक दुई जनासम्म पाहुनालाई राख्न सक्ने गरी पूर्वाधार विकासको कामसमेत अघि बढाइएको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !