८ कार्तिक २०८१, बिहीबार

राप्ती लोकमार्ग दैनिक नौ घण्टा बन्द हुने


Nepalpatra

७ वैशाख, लमही । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–सल्यान खण्डमा दैनिक नौ घण्टा सडक अवरुद्ध हुने भएको छ । राम्री घुम्तीमा तेइस विद्यार्थीको मृत्यु भएकाले त्यसलाई विस्तार गर्न तुलसीपुर उपमहानगरपालिका–३ को उक्त स्थानमा आजदेखि वैशाख २५ गतेसम्म दैनिक नौ घण्टा सडक बन्द गर्ने सहमति भएको तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र केसीले बताउनुभयो ।

उहाँका अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरेर काम गर्ने सहमति भएको हो । सडक विस्तार गर्ने स्थल साँघुरो हुँदा बन्द गरेरै काम शुरु गर्न लागिएको हो । अब दैनिक १५ घण्टा राम्री मोड हटाउन कार्य हुनेछ । त्यस स्थानमा पटक–पटक गरी चारवटा सवारी साधन दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेपछि घुम्ती विस्तार गर्न लागिएको हो । सडक डिभिजन कार्यालयले घुम्ती विस्तार गर्नका लागि उज्ज्वल निर्माण सेवासँग सम्झौता गरेको छ । भ्याटसहित रु ५६ लाखको लागतमा चालू आर्थिक वर्षको असारभित्र सक्ने गरी निर्माण शुरु गरिएको उक्त कार्यालयका इञ्जिनीयर लिलाबहादुर भण्डारीले बताउनुभयो ।उहाँका अनुसार चैत २९ गतेदेखि काम शुरु भएको र असार २५ गतेभित्र सक्ने गरी सम्झौता भएको हो । त्यहाँको घुम्ती काट्नाका साथै खाल्डाखुल्डी पुर्ने, र पर्खाल लगाइने छ ।

दश दिनमै काम पूरा हुन्छ

निर्माण कम्पनीका दीपक न्यौपानेका अनुसार दैनिक १५ घण्टा यही गतिमा काम गरे १० दिनमै पूरा हुने बताउनुभयो । “ उपकरणले साथ दियो भने हामीले हप्ता, दश दिनमा काम पूरा गर्छौं”, उहाँले भन्नुभयो, “त्यसका लागि हामीले कामलाई तीव्रता दिएका छौँ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !