५ मंसिर २०८१, बुधबार

तालिबान–अफगान वार्ता स्थगित, सरकार र विद्रोहीबीचको वार्ताको अन्यौल कायमै


सात प्रहरी अधिकारीको मृत्यु

६ बैशाख, दोहा । अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपाय पहिल्याउन यसैसाता कतारको दोहामा युद्धरत तालिबान र अफगान सरकारबीच हुन लागेको शान्ति वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ । वार्तामा सहभागी हुने अफगान प्रतिनिधिहरुको संख्या ठूलो भएको भन्दै तालिबान पक्षले आपत्ति जनाएपछि वार्ता स्थगित भएको हो ।

अफगान द्वन्द्वको शान्तिपूर्ण समाधान अफगानीहरुबीचकै वार्ताबाट टुङ्ग्याउनु पर्दछ भन्ने उद्देश्यबाट यसै साता विद्रोही तालिबानी समूह र अफगान प्रतिनिधिबीच वार्ता हुन लागेको थियो । तर काबुलले ठूलो संख्याको प्रतिनिधिमण्डल पठाउने जानकारी दिएलगत्तै त्यसलाई अस्वीकार गरिएको तालिबानले जनाएको छ ।

अफगानिस्तानमा १७ वर्षदेखि जारी हिंसात्मक युद्ध अन्त्य गर्न अमेरिकी प्रयास पनि जारी छ । अमेरिकाले अफगानिस्तानका विभिन्न पक्षबीच हुने भनिएको वार्ता स्थगित भएकामा असन्तोष प्रकट गरेको छ । अमेरिकी विशेषदूतको कार्यालयले दुबै पक्षलाई वार्तामा सहभागी हुन आग्रह गरेको छ । तर त्यस्तो वार्ताका लागि अर्को मिति घोषणा गरिएको छैन ।

वार्ताका आयोजक एवं द्वन्द्व तथा मानवीय अध्ययन केन्द्रका निर्देशक सुल्तान बराकातले एक विज्ञप्ति जारी गरी वार्तामा सहभागी हुने व्यक्तिहरुको नाम र पदका सम्बन्धमा समझदारी निर्माण गर्न पनि वार्ता स्थगित गर्नुपरेको बताउनुभएको छ ।

“स्पष्टै छ वार्ताका लागि अहिले उपयुक्त समय रहेन,” बराकातले भन्नुभएको छ ।

अफगानिस्तानका राष्ट्रपति अश्राफ घानीको प्रशासनले गत मङ्गलबार अफगानिस्तानका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै दोहा गोलमेच वार्तामा सहभागी हुने भनी २५० जनाको सूची सार्वजनिक गरेको थियो । यो सूचीमा सरकारी प्रतिनिधिहरुको नाम पनि समावेश थियो ।

तर तालिबानले अफगान सरकारको नामावली ज्यादै ठूलो भएको जनाउँदै यतिठूलो संख्याका व्यक्तिसँग भेटवार्ता गर्ने आफ्नो कुनै योजना समेत नरहेको जानकारी गराएको थियो ।

तालिबानले यसै साता एक वक्तव्यमा “काबुलको कुनै होटलमा विवाह वा अरु कुनै समारोहको पार्टीजस्तो यो कार्यक्रम नरहेको” बताएको थियो ।

तालिबान समूहले राष्ट्रपति घानीका मुख्य र जिम्मेवार पदाधिकारीसँग मात्र व्यक्तिगत हैसियतमा भेटवार्ता गर्न चाहेको स्पष्ट गरेको छ ।

वासिङ्टनस्थित विल्सन सेन्टरका विश्लेषक माइकल कुगलम्यानले पछिल्लो असमझदारीले शान्ति वार्ता र शान्ति प्रक्रिया दुबै जटिल मोडमा रहेको देखाएको बताउनुभयो । “ससानो कुरामा त यति विवाद गरिन्छ भने समग्र शान्ति प्रक्रियाको सफलतामा रहेका जटिलताको पूर्वानुमान सहजै गर्न सकिन्छ ।”

तर दोहामा आयोजना गर्ने भनिएको पछिल्लो दोहा सम्मेलनसँग तालिबान र अमेरिकी अधिकारीहरुबीचको वार्ताको कुनै सम्बन्ध छैन ।

गत फेब्रुअरीमा सरकारमा सहभागी नरहेका अफगान राजनीतिज्ञहरुसँग तालिबान समूहले मस्कोमा छलफल गरिसके पनि उनीहरुले राष्ट्रपति घानी र उहाँको प्रशासनका पदाधिकारीहरुसँग भेटघाट गर्न निरन्तर अस्वीकार गरिरहेका छन् । उनीहरुले घानी र उहाँको सरकारलाई अमेरिकी “कठपुतली” सरकारको रुपमा हेर्ने गरेका छन् ।

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले तालिबान र अफगान पक्षबीचको वार्ता स्थगित भएकामा दुःखी भएको बताउनुभएको छ । उहाँले ट्वीट गर्दै भन्नुभएको छ, “हामी सबै पक्षसँग निकट सम्बन्धमा छौं र वार्ताप्रति सबै पक्ष उत्तिकै प्रतिबद्ध हुनुको विकल्प छैन ।”

तालिबान समूहले अफगानिस्तानको आधाभन्दा बढी भूभागमा कब्जा गरेको छ । सशस्त्र कार्यबाही तिब्र बनाएको तालिबान र इस्लामिक स्टेट्सका कारण गत वर्ष अफगानिस्तानमा सबैभन्दा ठूलो मानवीय हताहत भएको थियो ।

गत फेब्रुअरीमा अमेरिका–तालिबानबीच वार्ता भएपछि विशेषदूत खलिलजादले शान्ति सम्झौताको “मस्यौदा संरचना” नै तयार गर्नुभएको छ, तर यस मस्यौदामा सबैको सहमति हुन बाँकी छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !