११ मंसिर २०८१, मंगलबार

जङ्गली बँदेलको तस्करी


badel

६ वैशाख, चितवन । जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ ।

निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार माडी क्षेत्रमा जङ्गली बँदेल समाएर अर्धचेत बनाई गाडीमा राखेर सौराहाका होटलमा पु¥याउने गरेको सूचना प्राप्त भएको बताउनुभयो ।

सौराहाका कतिपय होटलहरुले खुलमखुल्ला जङ्गली बँदेल भन्दै बिक्री गरेको निकुञ्जलाई सूचना प्राप्त भएको उहाँले बताउनुभयो । ढकालका अनुसार गाडीको डिक्की, धान, पराल लगायतका सामग्री बोक्ने गाडीभित्र लुकाएर बँदेल ओसारपसार गरिँदै आएको छ । उहाँले दुई हप्ता हाराहारीको फरक पारेर निकुञ्ज हुँदै माडी जाने आउने गाडीमा कुकुरसहितको सहयोगमा सुरक्षा जाँच गरिएको बताउनुभयो ।

यसै गरी मेघौली, कावासोती र बरण्डाभार क्षेत्रका सडक एवं राजमार्गमा पनि त्यसै गरी जाँच गरिएको उहाँले बताउनुभयो । सो क्रममा यात्रुलाई सकेसम्म कम कष्ट हुने गरी जाँच गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा सुँघेर आखेटोपहार पहिचान गर्न सक्ने कुकुर दुई वटा रहेका छन् । तिनै कुकुर हाल सुरक्षा जाँचमा प्रयोग गरिएको छ । निकुञ्जमा चोरी तस्करी गर्ने व्यक्तिको पहिचान गर्न सक्ने अन्य दुई कुकुर पनि रहेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (३)मा बँदेल मार्ने वा घाइते बनाई तस्करी गरेमा रु २० हजार देखि ५० हजारसम्म जरिवाना वा ६ महीनादेखि एक वर्षसम्म कैद अथवा दुवै सजाय हुने ढकालले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !