८ मंसिर २०८१, शनिबार

महाकालीलाई शैक्षिक नगरी बनाइने


Nepalpatra

२० चैत, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रूपमा विकास गरिने भएको छ । जिल्लाको सदरमुकाममा अवस्थित नगरपालिकालाई शैक्षिक केन्द्र रूपमा विकास गर्दै शैक्षिक नगरी बनाइने भएको हो ।

आगामी शैक्षिक सत्रबाट शैक्षिक नगरपालिकाको रूपमा विकास गर्ने उद्देश्यअनुरुप नगरपालिकाले शिक्षासँग सम्बन्धित सरोकावालासँग छलफल शुरु गरेको छ । नगरपालिकाको नौ वटै वडामा छलफल गरेपछि जिल्लास्थित शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग छलफल गरिएको छ ।

नगरपालिकाले शैक्षिक रणनीतिक योजना बनाउने महत्वाकांक्षी योजनाअनुसार शैक्षिक सुधार कार्यक्रममार्फत शैक्षिक नगरी बनाउन बहस थालेको हो । नगरप्रमुख हंशराज भट्ट नगरपालिकालाई कसरी दीर्घकालीन रूपमा चिनाउन सकिन्छ भन्ने उद्देश्यअनुरुप शैक्षिक नगरी बनाउने अभियानअन्तर्गत छलफल शुरु भएको बताउनुभयो ।

“तीन वर्षीय रणनीतिक योजनाअन्तर्गत नगरपालिकालाई शैक्षिक नगरी बनाउने सपना रहेको छ”, उहाँले भन्नुभयो, “आगामी बजेटमार्फत शिक्षा क्षेत्रलाई प्राथमिकता दिने उद्देश्यअनुरुप पनि शिक्षा क्षेत्र सुधार गर्न योजना बनाइनेछ, जिल्लाभरिका विद्यार्थीको आकर्षण सदरमुकाम नजिकका विद्यालयमा रहेका कारण पनि शैक्षिक नगरी अभियान सफल हुने छ ।” रणनीतिक योजनाअनुसार शिक्षा क्षेत्रमा थोरै लगानी बढाइने उहाँको भनाइ थियो ।

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्ययमबाट पढाइ नहुँदा निजी संस्थागत विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको भन्दै सबै सामुदायिक विद्यालयमा अनिवार्य अङ्ग्रेजी माध्यमबाट पढाइ गर्ने तयारी थालिएको नगरप्रमुख भट्टले बताउनुभयो । “नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा नयाँ शैक्षिकसत्रबाट अङ्ग्रेजी माध्यममा पढाइ शुरु हुन्छ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका विद्यालयका शैक्षिक क्यालेन्डर बनाई सामुदायिक र संस्थागत विद्यालयसँगसँगै अघि बढाइनेछ ।”

शिक्षा क्षेत्र सुधारमा सुझाव दिने शिक्षा क्षेत्रका व्यक्तिले अहिले पहिलो समस्या शिक्षकमै रहेको औँल्याएका छन् । महेन्द्र नमूना उमाविका शिक्षक विनोदसिंह कुँवरले शिक्षा क्षेत्र सुधार गर्न स्वयं शिक्षकबाटै सुधारको खाँचो रहेको औँल्याउनुभयो । “हामी आफ्ना बालबालिका कहिल्यै आफूले पढाउने विद्यालयमा नपढाउने अनि शिक्षा क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ ?”, उहाँले प्रश्न गर्नुभयो । उहाँले शिक्षक र अभिभावकबीच छलफल एवं चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

यसैगरी मालिकार्जुन मावि धापका प्रधानाध्यापक सुन्दरसिंह बुढाथोकी शिक्षा क्षेत्र सुधारका लागि अभिभावक शिक्षा सुधार जरुरी रहेको बताउनुहुन्छ । उहाँका अनुसार शिक्षकका धेरै कमजोरी छन्, त्यति हुँदाहुँदै पनि अभिभावक शिक्षा पनि आवश्यक छ । “नमूनाको रूपमा रहेको धाप विद्यालयमा आकर्षण बढाउन मैले आफ्नै छोरालाई सँगै पढाउन थालेको छु”, उहाँले भन्नुभयो, “तर अझै शिक्षाप्रति अभिभावकको रुचि बढेको छैन ।”

महेन्द्र मावि खलङ्गाका शिक्षक जयराज जोशी शिक्षक गुरु बन्न नसकेकै कारण शिक्षा क्षेत्रको गुणस्तर खस्किएको बताउनुभयो । शिक्षकले नैतिक, व्यवहारिक शिक्षा दिन नसकेकै कारण अहिलेको शिक्षा क्षेत्रमा समस्या उत्पन्न भएको उहाँको भनाइ छ । “शैक्षिक नगरी बनाउन अहिले सञ्चालन भइरहेको शिक्षा प्रणालीमा थोरै सुधार गर्नुपर्छ । विषयगत शिक्षक, विद्यार्थी सङ्ख्या अनुपातमा शिक्षक र भौतिक पूर्वाधारलगायतका तमाम समस्या पहिचान गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

दार्चुला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धाना धामी विद्यार्थीको क्षमता र गुणस्तर पहिचान नगरी नै शिक्षा दिँदा गुणस्तर बढ्न नसकेको बताउनुहुन्छ । क्षमता पहिचान नगरी दिएको शिक्षाले सकारात्मक परिवर्तन ल्याउन नसकिने उहाँले बताउनुभयो । शैक्षिक नगरीको रुपमा विकास गर्न तल्लो तहबाटै शिक्षा क्षेत्र सुधार गर्दै लैजानुपर्ने र पाठ्यक्रमअनुसार पुस्ताकालय, प्रयोगशालालगायतका बन्दोबस्ती गर्नुपर्ने उहाँको भनाइ थियो ।

महेन्द्र मावि खलङ्गाका प्रधानाध्यापक रामदत्त जोशी शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयको भौतिक तथा मानवीय जनशक्तिलाई ध्यान दिन सुझाव दिनुभयो । दक्ष जनशक्ति र आवश्यकताका आधारमा पूर्वाधार नहुँदा शिक्षाको गुणस्तर बढ्न नसक्ने उहाँको भनाइ छ ।

“जिल्लाको मुटु मानिएको खलङ्गा माविमा विद्यार्थीको चाप छ, निजी क्षेत्रबाट शिक्षक नराख्ने हो भने विद्यार्थी भर्ना अभियान नगरे हुन्छ”, उहाँले भन्नुभयो, “जिल्लाभरिकै विद्यार्थी आउँछन्, अहिले हामीसँग झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी छन्, नयाँ विद्यार्थी आए भने अझै सङ्ख्या बढ्छ । यस्तो अवस्थामा शिक्षामा सुधार कसरी गर्न सकिन्छ ।”

महाकाली नगरपालिकाभित्र ४८ सामुदायिक तथा आठ संस्थागत विद्यालय सञ्चालनमा छन् । यस्तै उच्च शिक्षा पढाइ हुने विद्यालय चार, दुई क्याम्पस र एक सिटिइभिटीबाट मान्यताप्राप्त विद्यालय रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !