८ मंसिर २०८१, शनिबार

१५ वर्ष पुगेपछि मात्रै योगेन्द्रले बुबा भेटे


Nepalpatra

१२ चैत, बेनी । आमाको अभावमा नवजात शिशुको पालनपोषण कति कठिन होला ? सहजै अनुमान लगाउन सकिन्छ यस्तो काम पक्कै कठिन हुन्छ । तर, म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका मनमती र हनुमान श्रीपालीका दम्पतीले जन्म लगत्तै आमा गुमाएका एक बालकलाई हुर्काएका छन् ।

पन्ध्र वर्ष अघि छोराको जन्म दिए लगत्तै सेती लामगाडेको निधन भएपछि उनको छोरा योगेन्द्रको हुकाइबढाई श्रीपाली दम्पतीले गरेका हुन् । बच्चालाई जन्म दिएकै दिन आमाको निधन भएपछि र उनका अन्य छोराछोरीहरु समेत स–साना भएपछि उनका घरपरिवार र आफन्तले नवजात शिशुको जिम्मा श्रीपाली दम्पतीलाई लगाएका थिए ।

यिनै श्रीपाली दम्पतीले ती बालकलाई विगत १५ वर्षदेखि पालनपोषण गर्दै आएका छन् । नाता सम्बन्धले भाञ्जा पर्ने भए पनि योगेन्द्र्रलाई उनीहरुले आफ्नो छोरा सरह नै हुर्काए । योगेन्द्र्रले समेत उनीहरुलाई आफ्नो बुबाआमा भनेरै बोलाउने गर्छन् । उनलाई आफ्नो जन्म दिने आमाको मृत्यु भएको कुराको कुनै अनुभुति नै छैन ।

“मेरो आमाबुबा उहाँहरु नै हुनुहुन्छ, उहाँहरुलाई छाडेर म कतै जान सक्दिनँ,” श्रीपाली दम्पतीलाई देखाउँदै उनले भने – “जन्म दिने आमाको मृत्यु भएको सुनेको छु, उहाँलाइृ देख्न पाइनँ ।” मल्कबाङवासी श्रीपाली दम्पती विगत दश वर्षदेखि बेनी नगरपालिका–१० पात्लेखेतमा बस्दैआएका छन् । उनीहरुका चार छोरी छन् । योगेन्द्रलाई आफ्नै परिवारको सदस्यको रुपमा हुर्काएका श्रीपाली दम्पती उनलाई छोराकै रुपमा आफूहरुसँगै राख्न चाहन्छन् । जन्म भएकै दिन आमा गुमाएका योगेन्द्रलाई हुर्काएका श्रीपाली परिवारको कार्य मानवीय सेवाको एक नमूना रहेको राष्ट्रिय जनजागृति मावि मल्कबाङका शिक्षक हरि छन्त्यालले बताए ।

जन्मेकै दिनमा आमा गुमाएका योगेन्द्रलाई हुर्काउने जिम्मा लिँदा मनमतीको काखमा आठ महिनाकी छोरी थिइन् । तैपनि जन्मेकै दिनदेखि आमाको काख सधैंका लागि गुमाएका योगेन्द्रलाई हुर्काउने कुनै विकल्प ननिस्किएपछि मनमतीले उनलाई जिम्मा लिइन् । “यो बच्चा बाँच्ला भनेर कसैले सोचेका थिएनन्, ‘मरे फाल, बाँचे पाल’ भनेर सबैले सुम्पिए, त्यो बेलाको दर्दनाक पीडा देख्न नसकेर हुर्काउन थालें,” उनले भनिन् । आफ्नो काखको छोरी र उनलाई एउटै सन्तान मानेर उनले हुर्काइन् । पुस–माघको चिसोमा दुई नानीहरुको हेरचाह गर्न नसक्दा आफू रातमा निदाउन समेत नसकेको उनले विगत पनि सम्झिइन् । “एउटालाई दूध खुवाएर सुताउँछु अर्को रुन्छ, आमाको मन के गरेर भुल्छन् भनेर रातभरि अनेक कोशिश गर्दागर्दै उज्यालो हुन्थ्यो,” आँखाबाट आँशु खसाल्दै मनमतीले भनिन् । योगेन्द्रका घरपरिवारले समेत श्रीपाली दम्पतीले आफ्नो परिवारमा आएको कठिन समयमा भगवान्को भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । “भाइ बाँचेर आज हामीले देख्न पाएका छौँ, अहिलेसम्म उहाँहरुले नै हुकाई र पढाई गराउँदै आउनुभएको छ, अब भाइ ठूलो भएर उहाँहरुको सेवा गरेको र सहारा बनेको हेर्न चाहन्छौँ, अबका दिनमा भाइको पढाइमा हामीबाट पनि सहयोग हुन्छ,” दाइ प्रेम लामगाडेले भने ।

बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविमा कक्षा ७ मा अध्ययनरत योगेन्द्रले जीवनमा पहिलो पटक आफ्नै बुबालाई शुक्रवार मात्रै भेट्न पाए । उनको शैक्षिक प्रमाणपत्र र नागरिकतामा कुन थर लेख्न लगाउने भन्ने विषयमा मत बाझिएपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उनले पहिलो पटक आफ्नो बुबा चन्द्रबहादुर लामगाडेलाई भेटेका हुन् । बुबा चन्द्र बहादुर र घरपरिवारका अन्य सदस्य यस बीचमा योगेन्द्रसँग सम्पर्क नै गरेन । योगेन्द्र चार वर्षको हुँदा श्रीपाली दम्पती पात्लेखेतमा बसाइँ सरेपछि उनका घरपरिवारसँगको भेटघाट बन्द जस्तै भयो । “उहाँ मेरो बुबा हुनुहुँदो रहेछ, अहिलेसम्म मलाई भेट्न आउनुभएको थिएन, मैले पनि देखेको थिइनँ,” उनले भने ।

एउटा घरमा जन्मिए अर्को घरमा हुर्किए योगेन्द्र्र । थर के राख्ने भन्ने विषयमा आफन्तबीच मत बाझियो । उनलाई हुर्काउँदै आएका श्रीपाली दम्पती आफूहरुले उनलाई धर्मपुत्रको रुपमा जिम्मा लिएको र उनलाई हुर्काएको बताउँदै आफ्नै थर राख्न चाहन्छन् । यता, उनका आफ्नै बुबा चन्द्रबहादुर उनलाई आफ्नै वंशको थर राख्न र आफ्नै नामबाट नागरिकता दिन चाहन्छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले दुबै पक्षलाई छलफलमा राखेर मेलमिलाप गराएका छन् । बच्चाको बाबु पत्ता लागेको सन्दर्भमा उनलाई अरु कसैको पनि थर राखेर नागरिकता लगायत अन्य कागजपत्र दिन नमिल्ने कानूनी प्रावधान रहेको छ ।

बुबाको नामबाट नागरिकता दिइने भए पनि उनको जन्मदेखि नै श्रीपाली दम्पतीबाट पालनपोषण हुँदै आएकाले उनको संरक्षकत्व समेत बालककै चाहना बमोजिम श्रीपाली दम्पतीको परिवारमा राख्ने गरी समझदारी बनेको प्रजिअ अधिकारीले बताए । “वास्तवमा जन्म भएकै दिन आमा गुमाएका ती बालकलाई हुर्काउने श्रीपाली दम्पती महान् हुन्, बालकले पनि उनीहरुसँगै बस्ने चाहना राखेकाले हामीले कानूनी र व्यावहारिक दुबै पक्षलाई हेरेर समाधान निकाल्यौं,” उनले भने । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !