१२ चैत, रुपन्देही । लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ ।
नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्डस, इन्डोनेसिया, श्रीलङ्का, भारत र नेपाललगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्दैछन् ।
सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायतका विषयमा छलफल हुनेछ । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्ध धर्मको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रा ह्युग मियल, ‘श्रीलङ्कामा युद्धपछिको धार्मिक कट्टरता’का विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दिगो धार्मिक सहिष्णुता’का विषयमा डा योगी सिंहनाथलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै सहभोजले शान्ति स्थापनामा खेलेको भूमिका, नेपालको शान्ति र पुनर्मिलनलगायतका विषयमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । बुधबार लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले बताउनुभयो ।
यसअघि सम्मेलनको उद्घाटन सत्रमा बोल्दै विज्ञले बुद्धका उपदेशलाई आत्मसात् गर्नसके संसारबाट सबैखालका द्वन्द्वहरुको अन्त्य गर्न सकिने बताएका छन् । त्यसका लागि संसारभरि बुद्धका उपदेशको प्रचारप्रसार गर्न जरुरी रहेको उनीहरुको भनाइ छ ।
नेपाललगायत दक्षिण एशियाका विभिन्न मुलुकमा लामो समय चलेका द्वन्द्वको समाधान भएको स्मरण गर्दै उनीहरुले दिगो शान्ति स्थापनाका लागि बुद्ध शिक्षाको औपचारिक अध्ययन अध्यापन जरुरी रहेको बताए ।
सो अवसरमा केन्ट युनिभर्सिटी बेलायतका प्रा डा मार्क वइन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, कोषका उपाध्यक्ष भिक्षुु मेत्तेय लगायतले बुद्ध धर्म र दर्शनको विविध पक्षमाथि प्रकाश पार्नुभयो । हिन्दू, बुद्ध र इस्लाम धर्मका प्रतिनिधिले संयुक्तरुपमा सम्मेलनको उद्घाटन गरेका थिए । (रासस)