६ जेष्ठ २०८१, आइतबार

कम्बोडियामा चीनको आर्थिक “उपनिवेश” छैन : प्रधानमन्त्री हुन सेन


८ चैत, नोमपेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने दुई अर्ब डलरको एक्सप्रेस राजमार्ग निर्माणको शुक्रबार शिलान्यास गर्नुभएको छ । उहाँले पश्चिमा राष्ट्रहरुले चिनियाँ लगानीबाट कम्बोडिया चीनको आर्थिक उपनिवेश बन्छ भनी गरिएका टिप्पणी सही नभएको पनि बताउनुभयो ।

आगामी सन् २०२३ सम्ममा पूरा भइसक्ने करिब २०० किलोमिटरको उक्त राजमार्गले राजधानी नोमपेन्हदेखि सिहानुकभिललाई जोड्नेछ । पछिल्ला वर्षहरुमा सिहानुकभिल चिनियाँ लगानीकर्ताका लागि आकर्षक स्थल मानिन्छ ।

चिनियाँ बेल्ट एन्ड रोड परियोजनाकै एक अंशका रुपमा रहेको यो राजमार्ग चिनियाँ एक कम्पनीले निर्माण गर्दैछ ।

राजमार्ग शिलान्यासका अवसरमा बोल्दै प्रधानमन्त्री हुन सेनले भन्नुभयो, “आजको परिवर्तित विश्वमा कुनै पनि मुलुक उपनिवेश हुने सम्भावना छैन, र कम्बोडिया पनि चीनको उपनिवेश होला भन्ने कल्पना पनि गर्न सकिन्न ।”

कार्यक्रममा सहभागी चीनका उप विदेश मन्त्री कोङ छुवानयूले पनि कम्बोडियामाथि चीनको प्रभूत्व रहेको कुरा अस्वीकार गर्नुभयो । “केही कुत्सित विचारका समूहले सेतोलाई कालो बनाउन चाहेका छन्, र चीनको लगानीलाई पासोका रुपमा व्याख्या गर्ने प्रयत्न मात्र गरिरहेका छन् ।”

उहाँले भन्नुभयो, “यथार्थमा चिनिया लगानी कुनै गलपासो होइन, यो कुनै खतरा पनि होइन, बरु कम्बोडियाको विकासका लागि एउटा सानो सहयोग हो ।”

बेइजिङ सरकारले कम्बोडिया सरकारलाई अनुदान र ऋण प्रदान गरिरहेको छ । प्रधानमन्त्री हुन सेनले चीनबाट प्राप्त सर्तरहीत आर्थिक अनुदान तथा ऋणलाई खुलेआम प्रशंसा गर्नुभएको छ । उहाँले अमेरिकी र युरोपेली युनियनबाट प्राप्त हुने सहयोगमा अनेक सर्तहरु हुने भन्दै आलोचना गर्नुभयो ।

कम्बोडियाको सबैभन्दा ठूलो लगानीकर्ता चीनले अर्बौं युआन लगानी गरेको छ । प्रधानमन्त्री हुन सेनले कम्बोडियामा एउटा नौसैनिक अखडा बनाउन लागेको हल्ला सत्य नभएको पनि बताउनुभयो । विवादित दक्षिण चीन सागरसम्म युद्धपोतहरु परिचालन गर्न कम्बोडियाको मार्ग सहज हुने बताइन्छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !