३ असार २०८१, आइतबार

मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी


रातो मासु

३० फागुन, चिप्लेढुङ्गा । उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ । महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च कास्कीले संयुक्त अनुगमन गरेको हो । अनुगमनका सिलसिलामा पोखरा महानगरपालिका–१० स्थित बी भाञ्जा सप्लायर्समा मापदण्डविपरीत सञ्चालन भएको भन्दै सिलबन्दी गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

उक्त सप्लार्यसमा अत्यधिक दुर्गन्ध, दर्ता नभएको, सार्वजनिकस्थलमा फोहर गरिएको, वडाको निर्देशन बेवास्ता गरेको भन्दै कानूनी कारवाहीका लागि सिलबन्दी गरिएको नेपालीको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले मापदण्डका बारेमा जानकारी गराएका छौँ । त्यो निर्देशनअनुसार सञ्चालनका लागि अनुमति दिन्छौँ । अब मापदण्डविपरीत सञ्चालन गर्ने कुनै पनि पसललाई स्थानीय कानूनअनुसार कारवाही गरिनेछ ।”

उपभोक्ताहितविपरीत गैरकानूनीरूपबाट सञ्चालित व्यवसायलाई निरुत्साहन गर्न निरन्तर अनुगमन गर्नुपर्ने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताउनुभयो । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने मासु व्यवसायीको गैरजिम्मेवार कार्य अनुगमन गरेर कानूनी प्रक्रियामार्फत समाधान खोजिने महानगरका सूचना अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । अनुगमनमा महानगरका प्रवक्ता नेपाली, जिल्ला प्रशासन कार्यालय कास्की, नाप तौल तथा गुणस्तर कार्यालय र पशु विकास महाशाखाका प्रतिनिधिको सहभागिता थियो ।

सुरक्षित सडक बनाइँदै

पोखरा महानगरपालिकाले वडा नं ५ को पहलमा पोखरा– बागलुङ–जिरोकिलोमिटरको सडकलाई सुरक्षित सडक बनाउन शुरु गरेको छ । सुरक्षित सडकको मापदण्डलाई ध्यान दिँदै रोड मेडियन ब्यारियर (३३ सेन्टिमिटरको उचाइ) निर्माण बुधबारदेखि शुरु गरिएको महानगरका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीलले जानकारी दिनुभयो । नेपालीका अनुसार उक्त सडकमा २५ साङ्केतिक पोल राखिनेछ भने छाडा चौपाया नियन्त्रणमा तीव्रता दिइनेछ । सडक सुरक्षाका लागि ट्राफिक पोष्टलाई थप सक्रिय बनाइनेछ ।

छ लेनको आधुनिक सडकमा ब्यारियर नहुँदा चालकले जथाभावी तीव्रगतिमा सवारी हाँक्ने, ट्राफिक नियमको उल्लङ्घन र छाडा चौपायाका कारण दिनहुँजस्तो दुर्घटना हुँदा मानवीय एवं भौतिक क्षति बढ्न गएपछि सुरक्षित सडकका लागि पहल गरिएको नेपालीले बताउनुभयो ।

उक्त कार्य सम्पन्न गर्न सडक डिभिजन कार्यालय पोखरासँग २०७५ फागुन १४ देखि २०७६ जेठ ३० गते सम्पन्न गर्ने सम्झौता गरिएको छ । रु ७६ लाख ४३ हजार ४४ को लागतमा सम्पन्न गरिने सम्झौता भएको नेपालीले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !