२१ जेष्ठ २०८१, सोमबार

प्रभावकारी बन्दै प्रशोधन केन्द्र


Nepalpatra

३० फागुन, ओखलढुङ्गा । च्यानममा स्थापना गरिएको दुग्ध चिस्यान तथा बेसार प्रशोधन केन्द्र प्रभावकारी बनेको छ । सुनकोशी गाउँपालिका र हलेशी दर्शन कृषि सहकारी संस्थाको संयुक्त लगानीमा सञ्चालन गरिएको केन्द्र स्थानीयवासीलाई दुग्धजन्य पदार्थ बिक्री गर्न र बेसार मसला तयारी गर्न सहज भएको हो ।

केन्द्रले स्थानीयस्तरमै युवालाई रोजगारी दिँदै किसानलाई व्यवसायमा सहयोग गरेको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो । “रोजगारीको खोजीमा हिँडेका युवालाई सहकारीमार्फत गाउँमै व्यवसायी बनाउने र किसानको मुहारमा खुशी छाउन यसले टेवा पुगेको छ”, अधिकारीले भन्नुभयो, “प्रत्येक वडामा सहकारी स्थापना गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रमै छ । वडावडामा सहकारी घरघरमा रोजगारी हाम्रो अभियान हो ।” च्यानमका अधिकांश किसानले गाईभैँसी पालेर दूध उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् । केन्द्रमा करीब ३०० लिटर दूध हप्तौँसम्म चिस्याउने मेसिनको जडान गरिएको छ ।

दूध चिस्यान केन्द्रका लागि रु चार लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बेसार प्रशोधन केन्द्रका लागि रु १५ लाख गाउँपालिकाले सहकारीलाई अनुदान दिएको थियो । गाउँमै व्यवसाय गर्न चाहने युवाका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय र हलेशी दर्शन कृषि सहकारी संस्थाबीच रु ३० लाख कर्जा सम्झौता भएको छ । गाउँमै दूधका लागि एकल तथा सामूहिक भैँसीपालन गर्ने युवालाई उक्त कर्जा लगानी गरिएको सहकारीका अध्यक्ष नवीनकुमार कटुवालले बताउनुभयो ।

सहकारीको शेयर सदस्य भएपछि मात्र युवा स्वरोजगारको कर्जा लिन र चिस्यान केन्द्रमा दूध बिक्री गर्न पाउने सहकारीको नियम छ । गत वर्षदेखि च्यानममा व्यावसायिक बेसार खेती पनि शुरु गरिएको छ । गाउँपालिकामार्फत च्यानमलाई बेसार पकेट क्षेत्र घोषणा गरी ८०० रोपनीमा व्यावसायिक बेसार खेती गर्न थालिएको थियो । गाउँमै दुग्ध चिस्यान तथा बेसार प्रशोधन केन्द्र स्थापना भएपछि दूधका लागि पशुपालन गर्ने र बेसार खेती गर्ने किसान उत्साहित भएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !