६ जेष्ठ २०८१, आइतबार

बालविवाह रोक्न सम्झाउँछन् विद्यार्थी


बालविवाह

२४ फागुन, जाजरकोट । भेरी नगरपालिका– ९ स्थित दीपेन्द्र माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने सुमित्रा चन्द आजभोलि बुबाआमालाई बालविवाहबाट हुने बेफाइदाका विषयमा विद्यालयमा सिकेका कुरा सम्झाउनुहुन्छ ।

छोरीका कुरा सुनेर पहिलेपहिले ध्यान नदिने अभिभावक आजभोलि छोरीको कुरालाई ध्यान दिएर सुन्ने मात्र होइन, सुनेको कुरा गाउँमा गएर बालविवाहबाट हुनेबेफाइदाका विषयमा खुलेरै छलफल गर्दै समाज जागरण अभियानमा लाग्नुभएको छ ।

भेरी नगरपालिका–११ का राधिका आचार्य आमा समूहमार्फत सबै खालका विकृतिविरुद्ध सङ्गठित भएर काम गरिरहेको बताउनुहुन्छ । “हामीले कम उमेरमा विवाह गरेर पढ्न लेख्न पाएनौँ, तर हाम्रा सन्तानले हामीले पाएको दुःख नपाऊन् भन्ने हाम्रो चाहना हो”, आचार्यले भन्नुभयो, “पहिले एक जमाना थियो, ‘छोरा हुनेको धन, भैँसी हुनेको वन’ तर अहिले ‘कम सन्तान ईश्वरको वरदान’ भन्ने नै सही लाग्छ ।”

यहाँका विद्यालयमा बालविवाहबाट हुने समस्या मात्र होइन, विद्यालयमा विद्यार्थी टिकाउने र आङ खस्ने समस्याका विषयमा समेत पढाइ हुनथालेको छ । महिलाको हकअधिकारका विषयमा समेत खुलेरै छलफल हुने गरेको छ । महीनावारी हुँदा विद्यालयमा नआउने छात्रा अहिले स्थानीयस्तरमा प्याड बनाउने तालीम सिकेपछि विद्यालय आउने दर पनि बढेको दीपेन्द्र माविका प्रधानाध्यापक धनबहादुर चन्दले बताउनुभयो । उमेर पुगेर विवाह गर्दा हुने फाइदाका विषयमा भुर, पोख्रा, जगतीपुरलगायतका दर्जन गाउँमा जागरण मात्र आएको छैन, विद्यालय, पाटी, बैठक, सार्वजानिकस्थलमा समेत व्यापक छलफल हुने गरेको छ ।

बालविवाह गर्नेलाई सरकारी सेवाबाट बञ्चित गर्न यहाँका स्थानीयवासीले माग गर्न थालेका छन् । नगरपालिकाको वडा नं ६, ९ र ११ मा रहेका विद्यालय, आमा समूह, बालसञ्जाल सबै एकजुट भएर बालविवाह रोक्ने अभियानमा लागेका छन् । स्थानीय प्रहरीले समेत सो अभियानलाई साथ दिएको छ ।

विद्यालयमा बाल अभियान र किशोरी तथा दौँतरी, शिक्षककर्मी, नमूना जोडी निर्माण गरी बालविवाह न्यूनीकरण गर्ने अभियान अहिले सबैको साझा भएको छ । स्थानीय सरकार र वातावरणीय कृषि तथा विकास केन्द्र एवं बहुआयामिक विकास तथा अध्ययन मञ्चले विगत छ वर्षदेखि बालविवाह न्यूनीकरणका लागि काम गर्दै आएका छन् । शिक्षकहरूलाई छुट्टै तालीमको व्यवस्था गरी यो अभियानमा सहभागी बनाइएको छ ।

प्रत्येक विद्यालयमा बालविवाह रोक्न बाल अभियान बनाई छलफल गर्दै बालविवाह न्यूनीकरण अभियानमा लागिएको भेरी नगपालिका– ९ का वडाध्यक्ष ध्रुव पौडेलले जानकारी दिनुभयो । “यो सबैको साझा अभियान भएकाले हामी सबै एक ठाउँमा रहनुको विकल्प छैन”, उहाँले भन्नुभयो । बुधबार जिल्ला सदमुकाम खलङ्गाबाट गएको सरोकारवालाको अनुगमनमा समेत स्थानीयवासी, विद्यार्थी, स्थानीय अभियानकर्मीले बालविवाहका विषयमा प्रस्तुति राखेका थिए । नमूना वडा बनाउन सबै सरोकारवाला निकाय जुटेको उनीहरूको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !