१० मंसिर २०८१, सोमबार

धार्मिक पर्यटकको रोजाइमा ‘गजेन्द्रमोक्ष धाम’


Nepalpatra

२३ फागुन, परासी । नवलपरासीस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजेन्द्रमोक्ष धाम पछिल्लो समय धार्मिक पर्यटकको रोजाइमा पर्न थालेको छ । त्रिवेणीधामको रुपमा समेत परिचित यस तीर्थस्थलमा पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्दो छ ।

पौरााणिक महत्व बोकेको यस धाममा अहिले दैनिक तीन हजार बढी आन्तरिक तथा बाह्य पर्यटक अवलोकन, पूजापाठ तथा स्नान गर्न आउने गरेको गजेन्द्रमोक्ष दिव्यधाम ट्रष्टले जनाएको छ । नेपालको हरिद्वार भनेर चिनिने यो स्थल पवित्र तीर्थस्थल हो । नारायणी, स्वर्णभद्र, पूर्णभद्र नदी मिलेर बनेको त्रिवेणीको हिन्दूधर्ममा ठूलो महत्व छ ।

केही वर्ष अघिसम्म यस स्थानमा दैनिक एक÷दुई सयको सङ्ख्यामा मात्र पयर्टक आउने गरेकोमा पछिल्लो वर्ष यहाँ धार्मिक पर्यटकको आगमन बाक्लिन थालेको धामका पीठाधीश्वर एवं मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयन आचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्य बताउनुहुन्छ ।

गजेन्द्रमोक्ष धाममा आउने अधिकांश पर्यटक भने भारतका हुन्छन् । उहाँका अनुसार यहाँ आउने ७० प्रतिशत पर्यटक भारतबाट आउने गरेका छन् । त्रिवेणीधाममा धार्मिक पर्यटक वृद्धि भएसँगै यहाँका होटल व्यवसाय फष्टाउन थालेका छन् भने स्थानीयवासी पनि उत्साही भएका छन् ।

उहाँ भन्नुहुन्छ, “धाम क्षेत्रमा निर्मित सिसमहल, गजेन्द्रमोक्ष नारायणको कलात्मक मन्दिरसहित यहाँको प्राकृतिक मनोरम वातावरण र त्रिवेणी नदीमा स्नानका लागि नेपाल र भारतका गरी दैनिक तीन हजारसम्म धार्मिक पर्यटक आउने गरेका छन् । तथापि यो धामको महत्वका दृष्टिकोणले यो सङ्ख्या अझै पनि कम हो ।”

यही क्षेत्र भएर बग्ने गण्डकी (नारायणी) नदीमा विश्वका अन्य कुनै नदीमा नपाइने शालग्राम पाइन्छ । यहाँदेखि मुक्तिनाथसम्मै शालग्राम पाइने भएकाले यस नदीको महिमा उच्च रहेको स्वामी प्रपन्नाचार्य बताउनुहुन्छ । यसको प्रचारप्रसार र विकास हुन नसक्दा ओझेलमा परेको छ । नेपाल सरकारले यस स्थलको विकासमा उचित ध्यान नदिँदा धार्मिक पर्यटनको महत्वपूर्ण धरोहर बन्ने सम्भावना भएर पनि यो क्षेत्र पछाडि परेको उहाँको भनाइ छ ।

उहाँका अनुसार पौराणिक कालमा गजेन्द्र (हात्ती) नारायणीमा पानी पिउन गएको बेला गोही(ग्राह)ले हात्तीको खुट्टामा समाएर मार्न खोज्दा गजेन्द्रले भगवान् विष्णुलाई पुकारेको र गरुडमा विराजमान भगवान विष्णु स्वयं प्रकट भई आफ्नो सुदर्शन चक्रले गोहीको शिर छेदन गरी गजेन्द्रको मोक्ष गरेको स्थल नै अहिलेको गजेन्दमोक्ष धाम हो ।

श्रीमद्भागवत अष्टमस्कनको अध्याय द्वितीय÷तृतीयमा यसबारे आख्यान पाइन्छ । बराहपुराण, पद्मा पुराणमा पनि यसको महत्वबारे उल्लेख गरिएको छ । गजेन्द्रले मोक्ष प्राप्त गरेको स्थल भएकाले यस स्थललाई गजेन्द्रमोक्ष दिव्य धाम भनिएको हो । यो स्थल सीतामाताले तपस्या गरेको तथा ऋषि वाल्मिकीको तपोभूमि पनि हो ।

छ बिघा क्षेत्रफलमा फैलिएको गजेन्द्र मोक्षधाम क्षेत्रमा अहिले गजेन्द्रमोक्ष नारायण मन्दिर, सिसमहलसहित हवन कुण्ड, धर्मशाला, गौशाला तथा गुरुकूल पाठशाला पनि रहेको छ । धार्मिक पर्यटनको केन्द्रबिन्दुको रुपमा स्थापित गर्न पछिल्लो समय यहाँ करीब एक अर्ब बढीको भौतिक संरचना निर्माण गरिएको ट्रष्टले जनाएको छ ।

यस क्षेत्रमा दैनिक दश हजार बढी पर्यटक भित्र्याउने गरी धामको प्रवद्र्धन, विकास र पूर्वाधार निर्माणमा लागिरहेको ट्रष्टका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ । स्वामी कमलनयन आचार्यको सत्सङ्कल्पमा हालै गजेन्द्रमोक्ष नारायण मन्दिर निर्माण गरिएको छ ।

छ वर्षअघि १५५ जना संस्थापक सदस्यबाट शिलान्यास भई निर्माण गरिएको उक्त मन्दिरको आइतबार स्वामी कमलनयन आचार्यसहित ५५५ जना संस्थापक सदस्यले सामूहिक रुपमा उद्घाटन गर्नुभयो ।

रु २६ करोडको लागतमा निर्माण भएको उक्त मन्दिरको भित्री भाग दक्षिण भारतको कलाकारिताबाट कलात्मक शैलीमा निर्माण गरिएको छ भने बाहिरी भाग परम्परागत पेगोडा शैलीमा निर्माण गरिएको छ । मन्दिर उद्घाटनसँगै मन्दिरभित्र नौ फुट अग्लो कालोपत्थरबाट निर्मित भगवान् नारायणको गरुणमा विराजमान भएको मूर्ति स्थापना गरिएको छ । फागुन २४ (भोलि) उक्त मूर्तिमा बैद्धिक विधिअनुसार भगवान्को प्राणप्रतिष्ठा गरिने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

भारतको बृन्दावनस्थित रङ्ग मन्दिरका गोवद्र्धन पीठाधीश्वर स्वामी रङ्गाचार्य महाराजको नेतृत्वमा भारत र नेपालका धर्माचार्य, स्वामी, जगतगुरु तथा साधु सन्तबाट अहिले बृहत् पाठपरायण भइरहेको छ । यस कार्यबाट धाम क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई धार्मिक पर्यटन प्रवद्र्धन हुनुका साथै आर्थिक विकासले फड्को मार्ने ट्रष्टका संस्थापक सदस्य तथा उद्योग वाणिज्य सङ्घ पश्चिम नवलपरासीका पूर्वअध्यक्ष वीरेन्द्र अग्रहरी बताउनुहुन्छ । भारतको हरिद्धार, तिरुपति, वैष्णदेवीजस्तै त्रिवेणी क्षेत्रमा पनि धार्मिक पर्यटकको घुइँचो बढाउन आफूहरु लागिरहेको उहाँले बताउनुभयो ।

त्रिवेणी धाम क्षेत्रमा पछिल्लो समय भइरहेको विकास र धार्मिक पयर्टक वृद्धिले स्थानीयवासी रोजगारी पाउनुका साथै उत्साहित पनि भएको स्थानीयवासी सुरज कोंहार बताउनुहुन्छ । त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधामसम्म पुग्नका लागि सडक क्षेत्रको विस्तार आवश्यक रहेको उहाँको भनाइ छ ।

यस क्षेत्रको दर्शन, पूजापाठ तथा स्नान गर्नाले दुःखकष्टबाट छुट्कारा पाउनुका साथै मोक्ष प्राप्त हुने र पितृकार्य, श्राद्ध, तर्पण, गर्नाले पितृहरुले मोक्ष प्राप्त गर्ने मान्यता रहिआएको छ । त्रिवेणी धामलाई मुक्तिनाथको पाउको रुपमा समेत चित्रण गरिन्छ । यहाँ वर्षेनी माघे औँशीका दिन ठूलो धार्मिक मेला लाग्ने गर्दछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !