३ असार २०८१, आइतबार

वन्यजन्तुबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण


Nepalpatra

१९ फागुन, विराटनगर । वन्यजन्तुबाट ज्यान गुमाएका र क्षति व्यहोरेका परिवारलाई आज यहाँ राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय मोरङले हात्तीको आक्रमणबाट ज्यान गुमाउनुभएका धनपाल थान गाउँपालिका–६ निवासी डोमी महतोको छोरा रघु महतोलाई रु १० लाख राहतस्वरुप प्रदान गरेको छ ।

यस्तै हात्तीको कारण क्षति व्यहोरेका कानेपोखरी निवासी पूर्णबहादुर जोशीले रु १६ हजार तथा उर्लावारी–४ का नरमाया मगर, नन्दबहादुर मगर, शम्शेरबहादुर माझी, ईश्वर पौडेल, गणेशकुमार मगर र सुन्दर हरैँचाका लक्ष्मीप्रसाद ओझाले जनही रु १० हजारका दरले राहत पाउनुभएको छ ।

विसं २०६९ मा जारी भएको निर्देशिकानुसार वन्यजन्तु आक्रमणबाट ज्यान गुमाउने, बालीनाली नष्ट भएको, घर भत्काएको, घाइते भएकालाई सरकारले क्षतिपूर्ति दिने निर्णय भएअनुसार राहत वितरण गरेको डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरे बताउनुभयो ।

विगतमा हात्तीको आक्रमणबाट ज्यान गुमाउनेका परिवारले रु एक लाख राहत पाउने गरेका थिए । केही वर्षदेखि सरकारले रु १० लाख दिने घोषणा गरेको छ । यस्तै, हात्तीको आक्रमणबाट समान्य घाइतेले रु एक लाख र गम्भीर घाइते हुनेले रु दुई लाख राहत पाउनुका साथै अन्य क्षतिको विवरणअनुसार राहत पाउने गरेको प्रमुख घिमिरेले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !