२ कार्तिक २०८१, शुक्रबार

वातावरण मैत्री विकास नहुँदा जोखिम बढ्दो


Nepalpatra

१९ फागुन, तुलसीपुर । विकास निर्माणका कार्य वातावरण मैत्री नहुँदा मुलुकले विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।

दाङको तुलसीपुरमा शनिबार आयोजित ‘जैविकविविधता संरक्षण र जलवायु परिर्वतन अनुकूलनका लागि स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले जैविक विविधता संरक्षण र जलवायु परिर्वतन अनुकूलनका लागि नीतिगत छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

‘‘विश्वमा देखिएको जलवायु परिर्वनको असर नेपालमा पनि परेको छ, यदि बेलैमा यसलाई नरोक्न हो भने मुलुकमा धेरै समस्या आउनेछ,” जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले भन्नुभयो, “ जलवायु परिर्वतन अनुकूलनका लागि स्थानीय निकायहरुले जैविक विविधता संरक्षण गर्न र हरियाली बढाउन जनतालाई सचेत गराउन सक्नुपर्छ ।”

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले आफूहरु यस विषयमा संवेदनशील भएको र कृत्रिम जलाशय निर्माण गरेको बताउनुभयो ।

शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले वनसम्बन्धी स्पष्ट नीति नहँुदा ‘हरियो वन नेपालको धन’ भन्ने नाराले सार्थकता पाउन नसकेको बताउनुभयो ।
कार्यक्रममा दाङका दश वटै स्थानीय निकायका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरुको सहभागिता थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !