३ असार २०८१, सोमबार

बादी समुदायको जीवन कष्टकर


Nepalpatra

५ फागुन, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ ।

केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की भवन नहुँदा वर्षौँदेखि उनीहरू पालको टहरामुनि बस्दै आएका छन् । यही सडकखण्ड भएर दिनहुँजसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । तर आफूहरूको पीडाका बारेमा हालसम्म कसैले पनि चासो नदेखाएको सो बस्तीका तेज बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बनाएका टहरा नजिक भएर ठूलाबडाहरू सधैँ हिँडिरहन्छन्, तर हाम्रो अवस्थाबारे कसैले सोधेका छैनन् ।”

सडकको छेउमै रहेको सरकारी जमीनमा उनीहरू बस्दै आएका छन् । उनीहरूसँग लालपुर्जा नभएर सुकुम्बासी भएर बसेका छन् । यो बस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकको दैनिकी रात अन्धकारमा र दिन अरुको मजदुरीमा बित्ने गरेको स्थानीयवासी समिर विष्टले बताउनुभयो ।

डोटीका बादी समुदायको घरबासका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किन्ने निर्णय गरे पनि भनेको ठाउँमा जग्गा नपाउँदा बादीको माग पूरा हुनसकेको छैन ।

शहरबजारमा आएका नयाँ तथा आधुनिक किसिमका सरसामान तथा भाडाकुँडाका कारण आफूले बनाउँदै आएका माटाका ग्राग्रा, मादल, सुल्भा, पाल्लोलगायतका सामग्री विस्थापित हँुदै गएको श्याम बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “भाडाकुँडा बनाउन हामी माटो नै पाउँदैनाँै, बजारमा आधुनिक सामान पाएपछि हामीकहाँ किन्न पनि कोही आउँदैनन् ।” उनीहरू यहाँ बसेको कम्तीमा पनि २० वर्ष भइसक्यो । दर्जनौँ परिवार भएको यो बस्ती भूस्वामित्वविहीन छ ।

ट्राफिक सचेतना कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले यहाँका विद्यालयमा ट्राफिक सचेतनासम्बन्धी जनचेतनामूलक तालीम दिन थालेको छ । जिल्लाका ट्राफिक नियमसम्बन्धी जानकारी नहुँदा दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिपायल, राजपुर, पिपल्लालगायतका ठाउँमा रहेका निजी तथा सरकारी स्कूलमा गएर ट्राफिक नियमसम्बन्धी तालीम दिन थालेको हो ।

ट्राफिक नियमसम्बन्धी जानकारी दिन र सबैले ट्राफिकसम्बन्धी जानकारी पाऊन भन्ने उद्देश्यले आफूहरूले उक्त तालीम दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले यहाँका दिल्पेश्वर मावी, सुजङ स्कूल, अमरज्योति स्कूललागयतका विद्यालयमा तालीम दिँदै आएको छ । गाडी चालकले डोटीलगायतका अन्य पहाडी जिल्लामा ट्राफिक नियमको पालना नगर्दा वर्षेनी ठूल्ठूला सवारी दुर्घटना हुनथालेको र दर्जनौँको अकालमै ज्यान जान थालेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !