२९ माघ, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने कार्य शुरु गरेको छ ।
महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले वडा नं २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपाङताको (रातो) पचिरयपत्र प्रदान गरी आज सो कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
महिला तथा बालबालिका कार्यालय महानगरपालिका मातहतमा आएपछि अपाङ्गता भएका व्यक्तिलाई पहिलो पटक परिचयपत्र वितरण शुरु गरेको हो । प्रक्रिया पुगेर आएका निवेदन, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्रका आधारमा परिचयपत्र वितरण गरिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
उपप्रमुख गुरुङले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई महानगर आउन असहज भएको बताउदैै उनीहरुको सहजतका लागि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र वडा तहमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइने छ भन्नुभयो ।
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरेलगत्तै महानगरले उपप्रमुख गुरुङको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको थियो ।
अपाङ्गता परिचयपत्र लिनका लागि वडा कार्यालयको सिफारिस पत्र, सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र, जन्मदर्ता, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फोटोसहित महानगरपालिकाको सामाजिक विकास महाशाखामा निवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।
पेश भएका निवेदन उपर प्रत्येक महीनाको अन्तिम सोमबार छलफल गरी अपाङ्गता भएका व्यक्तिको उपस्थितिमा परिचयपत्र वितरण गर्ने निर्णय भएसँगै अब प्रत्येक महीनाको अन्तिम सोमबार परिचयपत्र वितरण हुनेछ ।
सरकारले अपाङ्गतालाई चार समूहमा विभाजन गरी फरक÷फरक रङ्गको परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको छ । जसअनुसार पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहँेलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रङ्गको परिचयपत्र प्राप्त गर्ने छन् ।
–––