३ असार २०८१, सोमबार

सामूहिक व्रतबन्ध


Nepalpatra

२७ माघ, नुवाकोट । विदुर नगरपालिका–५ देवीघाटको शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माविले आज सामूहिक व्रतबन्ध सम्पन्न गरेको छ । संस्कृत विद्यालयलाई आर्थिक स्रोत जुटाउन समस्या भएपछि २०५५ सालदेखि शुरु गरिएको सामूहिक व्रतबन्ध अहिले सर्वसाधारणका लागि सस्तो खर्चमा सन्तानको चूडाकर्म गराउने अवसर र विद्यालयको आर्थिक टेवामा सहजता ल्याउने माध्यम बनेको विद्यालयका प्रधानाध्यापक हेमप्रसाद अधिकारीले बताउनुभयो ।

नीलकण्ठ कैलाशधाममा भएको व्रतबन्धमा ब्राह्मण, क्षेत्री, नेवार र कुमाल समुदायका १०७ बटुकलाई पण्डितले मन्त्रोदान गराएका थिए । लाखौँ रुपैयाँ खर्च हुने व्रतबन्ध अर्थात् चूडाकर्ममा सानो रकमले काम बन्ने भएपछि सामूहिक व्रतबन्धमा धनीगरीब सबैको आकर्षण बढेको सहभागीको भनाइ छ ।

यस वर्ष प्रतिबटुक रु चार हजार लिएर व्रतबन्ध गराइएको हो । तोकिएको शुल्क विद्यालयलाई तिरेपछि विद्यालयका तर्फबाट बटुकका लागि एक जोर धोती तथा बटुक र अभिभावकलाई खानपिनको व्यवस्थासमेत गरिएको छ । सामूहिक व्रतबन्धमा सहभागी हुन नुवाकोटका साथै रसुवा, धादिङ र काठमाडौँबाट समेत बटुक आएको विद्यालयका अध्यक्ष मानबहादुर डङ्गोलले जानकारी दिनुभयो ।

सामूहिक व्रतबन्धबाट अहिलेसम्म दुई हजार १०० भन्दा बढीले लाभ लिइसकेको बताइएको छ । विद्यालयले अहिले संस्कृत गुरुकुल शैलीको पठनपाठन सञ्चालन गर्नका लागि छात्रावासको व्यवस्था गरेको छ । तेइस विद्यार्थी र दुई शिक्षक छात्रावासमा रहने र उनीहरुका लागि व्रतबन्धबाट प्राप्त रकम खर्च गरिने प्रधानाध्यापक अधिकारीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !