८ मंसिर २०८१, शनिबार

जापानबाट फर्किएर बङ्गुरपालन


bangur

१९ माघ, दमौली । जापानमा फलाम कारखानामा काम गर्दा पूर्णबहादुर आलेले राम्रै आम्दानी गर्नुहुन्थ्यो । दश वर्षसम्म त्यहाँ कार्यरत रहँदा आलेले पैसा त कमाउनुभयो तर आत्मसन्तुष्टि कमाउन सक्नुभएन ।

अर्काको निर्देशनमा काम गर्नुभन्दा आफैँले सानो व्यवसाय गर्नसके आत्मसम्मान र प्रतिष्ठान हुने उहाँलाई थाहा थियो, तर बाध्यताले उहाँलाई वैदेशिक रोजगारको बाटो डो¥याएको थियो । जापानमा काम गरेर फर्किएपछि आफैँले केही व्यवसाय शुरु गर्छु भन्ने सोच राख्नुभएका आलेले आफ्नै ठाउँमा आएर अहिले बङ्गुरपालन गरिरहनुभएको छ ।

तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका आलेले विसं २०६८ मा भानु कृषि तथा पशु फार्म दर्ता गरेर बङ्गुरपालन गर्नुभएको छ । आफ्नै पेशा व्यवसाय भए अरुको निर्देशनमा काम गर्न नपर्ने र आफूले मेहनत गरेपछि आफैँलाई नै हुने आलेको भनाइ छ ।

उहाँले भन्नुभयो, “नेपालमै बसेर सानो व्यवसाय गरे पनि इज्जत र प्रतिष्ठा छ ।” बङ्गुर तथा बाख्राको पाठापाठी उत्पादन गर्ने र अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यसहित फार्म स्थापना गरे पनि अहिले भने बङ्गुरका पाठापाठी मात्रै उत्पादन गरी बिक्री गरिरहेको उहाँले बताउनुभयो । रु ४० लाखको लगानीमा व्यवसाय शुरु गर्नुभएका आलेको अहिले रु एक करोडभन्दा बढी लगानी भइसकेको छ ।

उहाँको फार्मबाट वार्षिक ५०० बङ्गुरका पाठापाठी उत्पादन हुने गरेका छन् । बङ्गुरको पाठापाठी बिक्री गरेर वार्षिक रु आठ लाखभन्दा बढी नाफा हुने गरेको उहाँले जानकारी दिनुभयो । बङ्गुरको पाठापाठीको जिल्लाभित्रै निकै नै माग भए पनि मागअनुसार पु¥याउन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा पाठापाठी रु पाँच हजारसम्म बिक्री हुने गरेको छ ।

भालुको आक्रमणबाट घाइते

भालुको आक्रमणबाट आज बिहान तनहुँमा एक जना घाइते भएका छन् । घाइते हुनेमा भानु नगरपालिका–१३, खड्कागाउँका ६० वर्षीय चिजबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालयुले जनाएको छ ।

घर नजिकैको कुखुरा फार्ममा आएको भालु धपाउन खोज्दा कुँवरलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट कुँवरको दायाँ खुट्टा र हातमा चोट लागेको छ । घाइते कुँवरको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो समय भानु नगरपालिका क्षेत्रमा भालुको आतङ्क बढेको छ । गत कात्तिक महीनामा समेत भालुको आक्रमणबाट भानु नगरपालिका–११ खाल्टे निवासी ४८ वर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !