३ असार २०८१, आइतबार

अग्नीपीडित परिवारलाई राहत वितरण


Nepalpatra

१२ माघ, तेह्रथुम । तेह्रथुम लालीगुराँस नगरपालिका–२ वसन्तपुर बजारमा बिहीबार साँझ भएको आगलागीबाट पीडित परिवारलाई रु आठ लाख ७५ हजार राहत वितरण गरेको छ ।

लालीगुराँस नगरपालिकाले आगालागीबाट पूर्णरुपमा घर क्षति भएका लालबहादुर याख्खालाई रु चार लाख, घर क्षति भएका मिनकुमारी गुरुङलाई रु दुई लाख र रेनुका खड्कालाई एक लाख लाख ५० हजार तथा पसलमा क्षति पुगेका नेतकुमार याख्खालाई रु एक लाख राहत वितरण गरेको प्रवक्ता देवेन्द्र खड्काले जानकारी दिनुभयो ।

यस्तै घाइते गोपाल गुरुङको उपचारका लागि रु २५ हजार राहत वितरण गरिएको छ । पीडितलाई शुक्रबार साँझ एक कार्यक्रमका बीच नगरप्रमुख अर्जुन माबोहाङ र उपप्रमुख तीला पोखरेलले राहत वितरण गर्नुभएको छ । यस्तै नगरपालिकाकै अगुवाइमा राहत सङ्कलन अभियानसमेत सञ्चालन हुने भएको छ । वसन्तपुर बजारसहित नगरपालिका क्षेत्र र छिमेकी बजारमा समेत राहत सङ्कलन गर्ने कार्यक्रम तय भएको प्रवक्ता खड्काले बताउनुभयो ।

सो आगलागीबाट लालबहादुर याख्खाको ढुङ्गामाटोको गाह्रो र जस्ताको छानो भएको तीनतले घर र अन्य धनमाल पूर्णरूपमा क्षति हुँदा रु ४० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताउनुभयो ।

यस्तै याख्खाको घर भाडामा लिई पसल गर्दै आएका छेतेन शाहको कैलाश किराना पसल पूर्ण रुपमा नष्ट हुँदा रु ३१ लाख क्षति भएको छ । आगो नियन्त्रणका क्रममा छिमेकी मीनकुमारी गुरुङको दुईतले कच्ची घर भत्काइँदा रु २५ लाख र रेनुका खड्काको घर भत्काउँदा रु २० लाखको क्षति भएको मुचुल्का गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

यस्तै नजिकैको घरमा पसल गर्ने नेतकुमार याख्खाको कस्मेटिक पसलमा समेत रु पाँच लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घाइते भएका गोपाल गुरुङको हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ करीब पौने ५ बजे मकलमा आगो तापेर बसेका व्यापारी छेतेन शाहको पसलबाट आगो निस्किएको थियो ।

स्थानीयवासीले सडकमा रहेका खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका थिए । स्थानीय पहल, दमकल र डोजरको सहायताका कारण आगलागीबाट ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । आगलागी बिहिबार साँझ करीब छ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

माथिल्लो खोरुङ्गा खोलामा कार्यरत एक कामदारको मृत्यु

माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर मृत्यु भएको छ । आयोजनामा कार्यरत कञ्चनपुर लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो ।

आयोजनाको पावरहाउस नजिकै करीब ३५ मिटर अग्लो कान्लाबाट शुक्रबार खसेपछि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !