१२ बैशाख २०८१, बुधबार

चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउन प्रधानमन्त्री सकारात्मक


shaktikhor

काठमाडौं : चितवनका उद्योगी तथा व्यवसायीले जिल्लाको शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।

चितवन उद्योग सङ्घका प्रतिनिधिले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्न र त्यसको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

शक्तिखोरमा हाल दुई हजार पाँच सय बिघा जग्गा रहेको भन्दै प्रतिनिधिमण्डलले जग्गाको संरक्षण एवम् औद्योगिक क्षेत्रको विकास एवम् आर्थिक समृद्धिका लागि पनि उपयुक्त थलो रहेको बताएको थियो।

यस्तै प्रतिनिधिमण्डलले चितवनमा औद्योगिक प्रदर्शनी केन्द्र स्थापनामा पनि सहयोग गरिदिन पनि आग्रह गरेको व्यवसायी कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

प्रतिनिधिमण्डलको आग्रहपछि प्रधानमन्त्रीले चितवनलाई औद्योगिक नगरी बनाउने विषय रणनीतिक महत्वको विषय भएकाले त्यसलाई पूर्ण सहयोगका साथ अगाडि बढाउन आफू तयार रहेको बताए। चितवनको विकास निर्माणका साथै आर्थिक गतिविधि बढाउनेबारे आफूले केही निर्णय उनले बताएको स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए।

‘चितवन औद्योगिक नगरी बनाउने प्रस्ताव रणनीतिक महत्वको कुरा हो। यसमा आवश्यक पहल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘प्रदर्शनी केन्द्रका लागि पनि सरकारको तर्फबाट आवश्यक सहयोग एवम् पहल हुनेछ।’ रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !