११ माघ, तेह्रथुम । पूर्वका पहाडी शहरमा वर्षेनी फरकफरक प्रकृति र पहिचान बोकेका स्तम्भ निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् ।
पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, सिधुवा, तेह्रथुमको वसन्तपुर, लसुने, सङ्खुवासभाको मुढेशनिश्चरे, म्याङ्लुङ, सङ्क्रान्ति र फिदिम बजारमा छुट्टाछुट्टै पहिचानका स्तम्भ बनेका छन् । भेडेटारमा शङ्ख, हिलेमा तोङ्वा, सिधुवामा बन्दाकोपी, लालीगुराँस नगरपालिकाको वसन्तपुरमा गुराँसको रुख, लसुनेमा लसुनको पोटी, शनिश्चरेमा यलम्बरको स्तम्भ, म्याङलुङबजारमा मेयङ, सङ्क्रान्ति र फिदिम बजारमा फाल्गुनन्दको स्तम्भ बनाइएका छन् ।
विभिन्न अवसरमा यी बजारमा आइपुग्ने आगन्तुकलाई स्थानीय पहिचानबारे सहजै अनुमान लगाउन सहज होस् र उनीहरुलाई आकर्षण पनि गरोस् भन्ने ध्येयले यस्ता स्तम्भ निर्माण भएका छन् । आन्तरिक तथा बाह्य पर्यटक ‘अफ सिजन’ मा पनि आकर्षित गरिरहन स्थानीयवासीले यो फरक शैली र जुक्ति अपनाएको पाइन्छ ।
पूर्वी तराईबाट पहाडको पहिलो गन्तव्यमा रहेको भेडेटारमा स्थानीयले शङ्खको आकृति ठड्याएका छन् । कोदोबाट बनाइएको स्वादिलो तोङवाका कारण कहलिएको हिले बजारमा स्थानीयवासी युवाको समूह सहयात्रा युवा क्लबले रु नौ लाखभन्दा बढी खर्च गरेर देशकै ठूलो र कलात्मक तोङवाको स्तम्भ निर्माण गरेको छ । यही तोङ्वाका कारण बाहिरबाट आउनेले हिलेलाई तोङवाको शहरका नामले चिन्न थालेको धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेले बताउनुभयो ।
हिले पुछार बसपार्कमा निर्माण गरिएको २२ फिट अग्लो कलात्मक तोङवा हिले बजारमा पहिलोपटक आउनेका लागि आकर्षणको वस्तु बन्ने गर्दछ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले (टिएमजे) को प्रवेशद्वार वसन्तपुरमा निर्माण गरिएको फुलिरहेको गुराँस स्तम्भले पनि यस क्षेत्रमा पर्यटक लोभ्याइरहेको छ । स्तम्भ निर्माणपछि देश विदेशका गुराँसप्रेमी वसन्तपुर आएर बाह्रै महीना फुलिरहेको गुराँसमा रमाउन थालेको निर्माण समितिका सचिव निरोज खड्काले बताउनुभयो ।
स्थानीयले रकम सङ्कलन गरी रु १० लाख लागतमा स्तम्भ बनाएका हुन् । गुराँस भूमि यहीँबाट शुरु भएको झल्को दिन फूलसहितको गुराँस स्तम्भ निर्माण गरिएको निर्माण समितिले जनाएको छ । “वसन्तपुरलाई गुराँसको शहर बनाउने हाम्रो लक्ष्य हो”, लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङले भन्नुभयो ।
गुराँसमा पर्यटक आकर्षित गर्ने यस क्षेत्रको प्रमुख माध्यम भएकाले नगरपालिकाले चालू आवभित्रै वसन्तपुर, चित्रे, डाँडाखर्क, लसुनेलगायतका सडक दायाँबायाँ बिरुवा रोपिने प्रमुख माबोहाङले बताउनुभयो । नगरपालिकाले हालै बजार नजिकै चोलुङ पार्कसमेत बनाएको छ ।
पर्यटक आकर्षित गर्नकै लागि वसन्तपुरवासीले केही माथिको तीनजुरे पहाड फेदीमा रहेका ढुङ्गालाई कुँदेर बाघ, कछुवा, गोही, भ्यागुतो, छेपारो, मृग, सर्प, हिमाली याक, चौँरी गाई, हिमाल, सीताले लगाएको साडी, जाँतोलगायत बनाइएको छ । रु २५ लाखभन्दा बढी खर्च गरेर यी वस्तु निर्माण गर्नुको प्रमुख उद्देश्य पर्यटक आकर्षित गर्नु रहेको स्थानीयवासी बताउँछन् ।
लालीगुराँस नगरपालिकाकै लसुने बजारको बीचभागमै लसुनको पोटी आकारको आकर्षक स्तम्भ छ । यो बजारमा आइपुग्ने जो कोही पनि लसुनको पोटीसँग तस्बीर खिचाउन लालायित हुन्छन् । स्थानीय किसानले लसुन खेती लगाएर बेच्न प्रयोग गर्ने क्षेत्रमा बजार विकास भएपछि बजारको नाम नै लसुने राखिएको थियो । त्यही पहिचान झल्काउने र पर्यटक आकर्षित गर्ने ध्येयले स्तम्भ निर्माण गरिएको निर्माण समितिका अध्यक्ष धर्मराज खड्काले बताउनुभयो ।
यस्तै कोशी राजमार्गको अन्तिम बिन्दुका रुपमा रहेको तेह्रथुम सदरमुकाम म्याङलुङमा पनि पहिचान झल्काउन बिरालो स्तम्भ निर्माण गरिएको छ । ‘म्याङलुङ’ शब्द लिम्बू भाषाबाट आएको र सोको ऐतिहासिक शाब्दिक अर्थ बिरालोसँग जोडिएकाले बिरालो स्तम्भ नै निर्माण गरेर पर्यटक आकर्षित गर्न थालिएको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनेले बताउनुभयो ।
बन्दागोभीको राजधानी भनिएको धनकुटाको सिधुवा बजारमा पनि बन्दागोभी आकारको स्तम्भ निर्माण भएको छ । बजारमा बन्दागोभीको खपत बढी हुने र यसको सङ्कलन साथै निकासी हुने मुख्य बजारका रुपमा पहिचान बनाएकाले बन्दागोभीको स्तम्भ बनाइएको हो ।
तेह्रथुमको आठराइ गाउँपालिकाको केन्द्र सङ्क्रान्तिबजार र पाँचथरको सदरमुकाम फिदिम बजारमा पनि राष्ट्रिय विभूति फाल्गुनन्दको स्तम्भ बनाइएको छ । यस्ता स्तम्भ बनेपछि ती बजारको पहिचान त्यहाँ आइपुग्ने जो कोहीले पनि छर्लङ हुने गरी थाहा पाएर मात्रै फिर्ने र आकर्षित हुने बुझाइ छ । (रासस)