८ मंसिर २०८१, शनिबार

ह्वीलचेयर पाउँदा खुशी


wheelchair

६ माघ, बर्दिवास । “कुञ्जिएको २५ वर्षपछि बल्ल मेरो घुमफिर गर्ने रहर पूरा भयो” महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङडाँडाका ४५ वर्षीय श्रीराम सिंहले ह्वीलचेयर चलाउँदै भन्नुभयो ।

पक्षघातले २० वर्षको उमेरमै खुट्टा सुकेर घरमै कुञ्जिएर बस्दै आउनु भएका सिंहलाई शनिबार वडाअध्यक्ष अभिराम प्याकुरेलले घरमै पुगेर ह्वीलचेयर दिएपछि घुमफिर गर्ने रहर पूरा भएको हो । “घुमफिर गरौंला भन्ने रहर थन्क्याई सकेको थिएँ” सिंहले भन्नुभयो, “वडाअध्यक्षले फेरि नयाँ आशा भरिदिनुभयो, अब आफ्नो बस्ती घुमफिर गर्दै सबैसँग घरघरै भेट्नसक्ने भएँ ।”

युवावस्था प्रवेशसँगै पक्षघातले डल्ल्याएपछि सानो झुप्रो घरको एउटा कुनालाई संसार देख्न थालेको आपूmलाई ह्वीलचेयरले जीवन अली फराकिलो बनाइदिएको उहाँको भनाइ छ । बिहेबारीको कुरा चल्दैगर्दा अचानक पक्षघातले थलिएपछि सिंहको बिहेको कुराले बिराम लियो । घरमैं बस्ने सिंहलाई भाइ बुहारी र भतिजाभतिजीले खानलाउन दिँदै आएका उहाँ बताउँनुहुन्छ ।

घरको गरीबीले एकमुष्ट पैसा जुटाउन नसक्दा चाहदाचाहँदै दाजुका लागि ह्वीलचेयर किन्न नसकेको आफ्नो घरको गरीबी वडाअध्यक्ष प्याकुरेले बुझिदिनुभएको सिंहका भाइ कान्छाले बताउनुभयो । पछिल्ला २५ वर्षदेखि साधन नहुँदा घरमैं कुञ्जिएका सिंहलाई आफ्नो सानो सहयोगले खुशी बनाएको कुराले सन्तोष लागेको वडाअध्यक्ष प्याकुरेलको भनाइ छ ।

“आफ्नो वडाबस्ती डुल्दै निस्कँदा सिंहको अवस्था देखे, उहाँलाई ह्वीलचेयर चढ्न पाए हुन्थ्योभन्ने रहर रहेछ” वडाअध्यक्ष प्याकुरेलले भन्नुभयो, “एकदमै सामान्य रकम खर्चदा उहाँको रहर पूरा गर्न पाएँ, आफ्नो सहयोग सानो भए पनि सिंहको खुशीले मेरो मन गद्गद् भएको छ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !