८ मंसिर २०८१, शनिबार

मिथिलामा लाईको प्रयोग


Nepalpatra

५ माघ, बर्दिवास । ‘खाजा खाउँ…लाई, सनेस (कोसेली) पनि पठाउँ लाई नै ।’ अहिले महोत्तरीसहितको मिथिला क्षेत्रमा तील, चिउरा र मुरीबाट बनेका लाई(लड्डू) को प्रयोग बढ्दो छ । तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै घरमा आउने आफन्तको स्वागतमा लाई नै प्रयोग हुने गरेको छ । मिथिलामा माघ महिनाभर लाई बनाएर सनेस पठाउने परम्परा नै बनिसकेको छ ।

घरमुली मिथिलानी (घरकी मुख्य महिला)ले तिलासक्रायत पर्व मनाइएसँगै घरका अन्य सदस्य अहिले लाई बनाएर विवाहित छोरी, दिदीबहिनी, फूपू, मित्र र अन्य आफन्तका घरमा सनेस पु¥याउन व्यस्त देखिन्छन् । लाई बनाउने काममा एकले अर्कोलाई सहयोग गर्ने टोल तथा छरछिमेकमा अहिलेसम्म चलन चल्दै आएको छ । “हामी आपसमा लाई बटार्ने दिन मिलाउँछौँ”, छिमेकका जेठानी, देउरानी र छोरी, भतिजीलाई वरिपरि राखेर लाई बनाउन व्यस्त महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरकी शान्तिदेवी साहले भन्नुभयो, “यो माघ महीनामा हामी महिलाको रमाइलो गर्ने र हाँसखेल गर्ने अवसर पनि लाई बनाउँदा नै मिल्ने गर्छ ।”

तिलासक्रायत पर्व घरमा मनाइएसँगै ‘सनेस’ पठाउने क्रम शुरु हुन्छ । आफ्नो घरको अनुकूलताअनुसार माघभरि नै ‘सनेस’ पठाउने चलन छ । लाई बटार्ने काम महिलाले गरे पनि ‘सनेस’ बोकेर आफन्त कुटुम्वकहाँ पुरुष नै जाने गर्छन् । “पर्वकै दिन सानो छोराले तिलासक्रायत पर्वको सनेस छोरीकहाँ पु¥याएर आयो” अझै तील, चिउरा र मुरीका लाई बनाउन लागिरहनुभएकी भङ्गाहा नगरपालिका–४ थारुटोल बनराकी रामसुनरदेवी थारूले भन्नुभयो, “अब ननद (नन्द) र मित को घरमा जान बाँकी छ, त्यसैले लाई बनाइरहेछुु ।”

खासगरी छोरी, दिदीबहिनी, फूपू र मितको घर ‘सनेस’ पु¥याउन छुट्न नहुने मान्यता नै रहेको जिल्लाकै औरही नगरपालिकाको भोइल बस्तीका पाका किसान ७० वर्षीय मोहन महतोको भनाइ थियोे । मिथिलामा माघभरि घरको खाजामा लाई खाने गरिएकैले अहिले घरघरमा लाई बनाउने मुख्य काम बनेको बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी दिपीयादेवी महतोले जानकारी दिनुभयो ।

खासगरी जाडो याममा सख्खर, घ्यू र खुवाका परिकार खाँदा स्वास्थ्य ठिक रहने भएकाले छिप्पिदो जाडोमा माघे सङ्क्रान्तिदेखि सिङ्गै महीनाभरि नै यी सामग्री मिसाएर बनाइने तील, चिउरा र मुरीका लाई खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेकोे बर्दिवास–२ की स्वास्थ्यकर्मी रश्मी दत्तले उल्लेख गर्नुभयो ।

‘सनेस’ पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा लाई नै सबैको रोजाइको परिकार बनेपछि मिथिलामा हिउँदभरि लाईको समय हुने गरेको यहाँका बुढापाका बताउँछन् ।मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र तिलासक्रायत पर्वको ‘सनेस’ आफन्तजनका घरमा पु¥याउने परम्परा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !