३० पुस, काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल र बहराइनबीचको आर्थिक र सांस्कृतिक कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।
नेपाली राजदूतावास बहराइनले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने काममा सहयोग गर्न त्यहाँ बसोवास गर्ने नेपाली समुदाय, सङ्घसंस्था र विभिन्न सङ्गठनसँग आग्रह गर्नुभयो ।
राजदूत सुन्दासले स्थानीय कानून र संस्कृतिको सम्मान गर्दै व्यवसायिकताका साथ काम गर्न सम्पूर्ण सहभागीमा आह्वान गर्नुभएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार उक्त कार्यक्रममा नेपाली कामदारको हकहित प्रवद्र्धन गर्ने सिलसिलामा सम्पूर्ण बहराइनवासी नेपाली समुदायमा दूतावासबाट प्रदान गरिएको सेवा, सेवा प्राप्त गर्ने प्रक्रिया तथा स्थानीय श्रम कानूनका विविध पक्षका बारेमा जानकारी गराइएको थियो ।
सोही अवसरमा उप नियोग प्रमुख खगराज पाण्डेले आफ्नो सवस्थ्यको ख्याल गर्दै आर्जन गरिएको पारिश्रमिकको सही सदुपयोग गर्न र नेपाल एवं नेपालीको हित संरक्षण तथा प्रवद्र्धन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा दूतावासबाट प्रदान गरिएका सेवा, नेपाली कामदारको मुख्य समस्या र समाधान गर्न दूतावासले गरेको पहल, मृत्यु र क्षतिपूर्ति सम्बन्धी अवस्था, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा एवं दुवै श्रम कानूनलगायतका विषयमा छलफल भएको थियो । (रासस)