२६ पुस, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले रु ६० लाख बराबरको छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
गाउँपालिकाको केन्द्र औँशीबजार नजिकै भवन निर्माणका लागि छ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेशन पाससमेत गरिसकिएको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई स्थानीय होमप्रसाद कोइराला, गङ्गा राई, अमृतबहादुर लिम्बू र जयप्रसाद लिम्बूले संयुक्तरुपमा रु ३० लाख बराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
यस्तै स्थानीयवासी शेरबहादुर थापाले स्व श्रीमती तिलरुपाको स्मृतिमा रु ३० लाख बराबरको तीन रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । जग्गा प्राप्तिपछि अब गाउँपालिकाको आफ्नै भवन निर्माणका लागि पहल थालिने अध्यक्ष चोङवाङले बताउनुभयो ।
गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाका लागि मात्रै गाउँपालिकाले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ । भाडाको घरमा साँघुरा कोठा भएकाले काम गर्नसमेत असजिलो भइरहेको छ ।
खानेपानीको समस्या
तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा खानेपानीको चरम समस्या रहेको छ । बजार र आसपासका बस्तीमा समेत पिउने पानीकै हाहाकार भएको छ । पानी अभावका कारण स्थानीयवासी तथा होटल व्यवसायीले ट्र्याक्टरबाट ढुवानी गरी उपभोग गर्न बाध्य रहेका छन् ।
पोक्लाबाङ बजार आसपासका बस्तीसमेत गरी २०० बढी घरधुरीमा खानेपानीको चरम समस्या रहेको छ । बजार र यहाँका गाउँका बासिन्दाले थाक्पाखोला मुहानबाट ल्याइएको खानेपानी योजनाबाट पानी उपभोग गर्दै आएका थिए तर वर्षेनी मुहान सुक्दै गएपछि अहिले हरेक वर्षजसो हिउँद याम शुरु हुनासाथ खानेपानीको समस्या हुने गरेको छ ।
पानी अभावले समस्या हुन थालेको र ट्र्याक्टरमार्फत ढुवानी गरी व्यवसाय चलाउनु परेको अण्डरग्राउण्ड होटल एण्ड लजका चिरञ्जीवी खनालले बताउनुभयो । व्यवसायीले जलजलेको मूलपानीबाट ट्र्याक्टरमार्फत पानी ढुवानी गर्ने गरेका छन् । केही स्थानीयले पिठ्यूँमा पानी बोकेरसमेत दैनिकी गुजार्दै आएका छन् ।
गाउँपालिकाको केन्द्रमा जनसङ्ख्याको चाप बढ्दै गर्दा खानेपानीको चरम समस्या हुन थालेको हो । यता गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले भने डिप बोरिङ गरेर तत्कालका लागि खानेपानी समस्या सुल्झाउने तयारी रहेको बताउनुभयो । (रासस)