८ मंसिर २०८१, शनिबार

चरा गणना शुरु


Nepalpatra

२५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ ।

विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो । चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन् ।

चराविद् टीका गिरीका अनुसार हरेक वर्ष जनवरी शुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ । यसपटक जनवरी ५ देखि २० सम्म चरा गणना गरिने छ । चरा र तीनको वासस्थानको अवस्थाबारे अध्ययन र अनुसन्धानका लागि चरा गणना हुने गरेको उहाँले बताउनुभयो । पानीमा आश्रित चरासँगै अन्य चराको बारेमा समेत खोजी गरिन्छ । चितवनको ढुङ्ग्रे खोला, बूढी राप्ती, बिसहजारी ताल, गरुड ताल, पटना ताल, तमोर ताल, लामी ताल, हेटौँडालगायतका स्थानमा चरा गणना गरिने उहाँले बताउनुभयो ।

वर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको जिन्दगानी घाँटदेखि सौराहासम्म चरा गणना गरिएको छ । त्यस्तै आज सौराहादेखि कसरासम्म गणना गरिने कार्यक्रम रहेको छ । गणनाका लागि चराको बारेमा ज्ञान भएका नेचर गाईड सहभागी छन् । मानवीय लापर्वाहीका कारण वासस्थानमा परेको असरले चरा सङ्कटमा परेकोे चराविद्ले बताएका छन् । विश्वमा सन् १९६७ देखि शुरु भएको चरा गणना नेपालमा सन् १९८७ देखि शुरु भएको हो । सोही वर्षदेखि चितवनमा पनि चरा गणना थालिएको हो ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । चितवनमा मात्र ६३६ प्रजातिका चरा पाइने बिडारीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !