६ जेष्ठ २०८१, आइतबार

मृतकका परिवारलाई गाउँपालिकाबाट राहत


Nepalpatra

१५ पुस, बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मङ्सिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप शनिबार गाउँपालिकाले प्रतिमृतक व्यक्तिका परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य र प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेलसहितको टोलीले २१ जना मृतकका परिवारलाई भेट गरी मृतकको धार्मिक संस्कारअनुसार परम्परागत कार्य गर्नका लागि राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमासमेत नहुने भएकाले सहयोगस्वरुप राहत रकम घरघरमै पुगेर उपलब्ध गराएको गाउँपालिकाको अध्यक्ष तामाङले बताउनुभयोे ।

सोही समयमा ज्यान गुमाएका व्यक्तिको मृत्यु दर्ता पनि वडा कार्यालयमार्फत घरघरमै गएर प्रदान गरिएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोगका लागि गाउँपालिकाले गरेको अपिलअनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ थप्रेकका ईश्वर कार्कीमार्फत सङ्कलन भएको रु ४४ हजारमा नेविसङ्घका जिल्ला नेता कृष्ण मिश्रले रु छ हजार थप गरी त्यो रकमसमेत गाउँपालिकामार्फत मृतक व्यक्तिका परिवारलाई सहयोग स्वरुप उपलब्ध गराइएको छ ।

यसैगरी, नुवाकोटको शिवपुरी गाउँपालिकाले मृतक व्यक्तिका परिवारलाई सहयोगस्वरुप रु दुई लाख १० हजार दुप्चेश्वर गाँउपालिकालाई उपलब्ध गराएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो रकम अब गाउँपालिकाले प्रतिमृतक व्यक्तिको परिवारलाई रु दश÷दश हजार उपलब्ध गराउने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरुप दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका व्यवसायी सुशील खड्काले यसअघि प्रतिमृतकका परिवारलाई रु दश÷दश हजार उपलब्ध गराउनुभएको थियो ।

सो दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप तीन गरी २१ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते १३ जनाको अहिले पनि काठमाडाँैका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको उपचारका क्रममा आर्थिक अभाव भएकाले सहयोगका लागि गाउँपालिकाले गरेको अपिलअनुसार दाताबाट सहयोग जुट्ने क्रम पनि जारी रहेको छ । हालसम्म तामाङ समाज अमेरिकाको तर्फबाट संस्थाका महासचिव बुद्धिमान तामाङको पहलमा रु एक लाख, दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका मधुकर पाण्डेबाट रु एक लाख, हिरारत्न जलविद्युत् आयोजनाले रु ५० हजार, सामुदायिक विकास केन्द्र नुवाकोटले रु ३९ हजार, शिक्षक सङ्घ नुवाकोटले रु ११ हजार, दुप्चेश्वर गाउँपालिका–५ का वडासदस्य होमबहादुर तामाङले रु नौ हजार उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि यहाँका जनप्रतिनिधिको पहलमा नेपाल सरकारले निःशुल्क उपचारका लागि प्रबन्ध गराउन पहल भइरहेको जनाएको छ ।

सो दुर्घटनापश्चात चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी अझै फरार रहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !