५ जेष्ठ २०८१, शनिबार

तटीय क्षेत्रमा तेल ट्याङ्करमा विस्फोट, पाँचको उद्धार


Nepalpatra

१४ पुस, लर्नाका, साइप्रस । साइप्रस प्रहरीले साइप्रसको तटीय समुद्री क्षेत्रमा देखिएको माल्टाको झण्डा भएको एक तेल ट्याङ्करबाट चालक दलका पाँच जनालाई उद्धार गरेको छ । उक्त तेल ट्याङ्करमा विस्फोटपछि आगलागी भएको अधिकारीहरुले बताएका छन् ।

ट्याङ्करका चालक दलका सदस्य दुई भारतीयलाई उपचारका लागि निकोसियास्थित अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको शरीर ३० देखि ७० प्रतिशत डढेको छ ।

अरु तीन जना ग्रीक नागरिक भने सामान्य घाइते भएका र उनीहरुलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

ट्याङ्करमा रहेका चालक दलका अरु सदस्यले आगो निभाउन सफल भएका थिए । ट्याङ्करमा आफ्नै प्रयोजनका लागि करिब १०० टन इन्धन रहेको बताइएको छ । तटीय उद्धार केन्द्रबाट खटिएको टोलीले समेत समुद्रमा तेल चुहिएको वा नचुहिएको निगरानी गरेका थिए ।

एथ्लोस नाम गरेको उक्त ट्याङ्कर ग्रीसतर्फ हिँडेको थियो । उक्त ट्याङ्करमा १७ जना (एक जना जर्जियाली, सात जना ग्रीसेली र नौ जना भारतीय) चालक दलका सदस्य सवार थिए । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !