५ जेष्ठ २०८१, शनिबार

व्यवस्थापन समितिलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्ने


Nepalpatra

१४ पुस, काठमाडौँ । नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति सङ्घले विद्यालयमा सुशासनका लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार र जवाफदेही बनाउन संयन्त्र स्थापना गर्नुपर्ने माग गरेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र सङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी अभिभावकको ६० प्रतिशत प्रतिनिधित्व र नेतृत्वसहितको विद्यालय व्यवस्थापन समिति हुनुपर्ने समेत माग गरेको छ ।

“विद्यालयको स्वामित्व अभिभावक र विद्यालय व्यवस्थापन समितिमा रहनुपर्छ र प्राज्ञिक नेतृत्व र शैक्षिक व्यवस्थापनमा प्रधानाध्यापकलाई जिम्मेवार बनाउनुपर्छ”–सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापाले विद्यालयको प्रशासनिक र प्राज्ञिक नेतृत्व अभिभावकप्रति जवाफदेही बनाउन प्रधानाध्यापकको नियुक्ति विद्यालय व्यवस्थापन समितिले गर्नुपर्छ भन्नुभयो ।

महासङ्घले विद्यालय शिक्षामा गुणस्तर तथा जवाफदेहिता सुनिश्चितताको लागि शिक्षकले प्रधानाध्यापकसँग, प्रधानाध्यापकले विद्यालय व्यवस्थापनसँग र विद्यालय व्यवस्थापक समितिले स्थानीयप्रति उत्तरदायी हुने गरी सरकारसँग करार गर्ने प्रावधान हुुनुपर्नेमा पनि जोड दिएको छ ।

सङ्घका कार्यबाहक अध्यक्ष गिरिन्द्र अधिकारीले स्थानीय सरकारको विद्यालय व्यवस्थापन गर्न पाउने अधिकारको सम्मान गर्दै ती विद्यालय व्यवस्थापन गर्न नागरिकका अधिकार सङ्कुचित नगर्ने प्रत्याभूति हुनुपर्ने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !