५ जेष्ठ २०८१, शनिबार

सात वर्षपछि दमास्कसमा युएईको दूतावास पुनः स्थापना


Nepalpatra

१३ पुस, दमास्कस । युनाइटेड अरब इमिरेट्स (युएई) ले सिरियाको दमास्कसमा आफ्नो राजदूतावास पुनः खोलेको छ । युएईको उक्त कदमले सिरिया सरकारलाई अरब मुलुकको सामिप्यमा ल्याउने विश्वास गरिएको छ ।

सिरियाली सरकार परिवर्तन हुनुपर्ने भन्दै राष्ट्रव्यापी प्रदर्शन भएपछि युएईले सन् २०१२ को फेब्रुअरीमा सिरियासँगको सम्बन्ध विच्छेद गरेको थियो ।

झण्डै सात वर्षपछि दमास्कसमा आयोजित विशेष समारोहमा युएईको झण्डा राजदूतावासमा फहराइएको छ । उक्त कार्यक्रममा कुटनीतिक व्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

राजदूतावासले जारी गरेको विज्ञप्तिमा हाल कार्यबाहक राजदूतले काम थालिसक्नुभएको उल्लेख छ । दूतावासले दुबै देशबीचको सम्बन्धलाई पुनः सामान्य बनाउन युएई तत्पर रहेको जनाएको छ ।

युएईको राजदूतावास खुल्न लागेको खबर दमास्कसमा केहीदिन अघिदेखि नै फैलिएको थियो । केही दिन अघिदेखि नै दूतावास भवनको मर्मत कार्य हुन थालेको देखिएको थियो ।

सुडानका राष्ट्रपति ओमार अल–बासिरले पनि यही महिनाको शुरुमा सिरियाको भ्रमण गर्नुभएको थियो । युएईले राजदूतावास पुनः खोले लगत्तै बहराइनले पनि आफ्नो राजदूतावास पुनः खोल्ने सङ्केत दिएको छ । यो दूतावास पनि सन् २०१२ को मार्च महिनाबाट बन्द छ ।

सिरियालाई अरब लिगको सदस्यबाट सन् २०१२ मा निलम्बित गरिएको थियो । धेरैवटा खाडी मुलुक र उत्तर अफ्रिकी मुलुकहरुले सिरियाली सत्ता परिवर्तन हुनुपर्ने माग गरिआएका थिए ।

सिरियाली गृहयुद्धका कारण तीन लाख ६० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

सन् २००० देखि सत्तामा रहेका सिरियाली राष्ट्रपति असादको शासनसत्ता विद्रोहीको आक्रमण र जनताको तिब्र विरोधका कारण सङ्कटमा परेको थियो । तर, रसियाले सन् २०१५ देखि सैनिक सहायता र फौज उपलब्ध गराएपश्चात असादको शासन टिकेको छ, तर यसको ठूलो मूल्य सिरियाली जनताले चुकाउनु परेको छ ।

सिरियाली सेना र समर्थक लडाकूले सिरियाको अधिकांश भूभाग पुनः कब्जा गरेका छन् । उनीहरुले राजधानी दमास्कस सहित मुलुकका अन्य मुख्य व्यापारिक मार्गहरुमा नियन्त्रण कायम गरेका छन् ।

पछिल्ला केही हप्तादेखि कूटनीतिक गतिविधि सिरिया र दमास्कसमा तिब्र रुपमा बढेका छन् । अर्को वर्षको मार्चमा ट्युनिसमा अरब लिगको बैठक हुन लागेकाले पनि कुटनीतिक चहलपहल बढेको हो ।

सीमा खुलेसँगै हालैका सातामा जोर्डनसँगको व्यापार शुरु भएको छ । वर्षौंपछि बिहीबार दमास्कस–ट्युनिसिया व्यापारिक उडान भएको छ । सन् २०११ पछि पहिलोपटक चाम विङ्स एयरलाइन्सले सिरिया–ट्युनिसिया सिधा उडान गरेको हो ।

दुबै देशबीचको पर्यटक आवागमनलाई यो उडानले मद्दत गर्नेछ, पर्यटन व्यवसायी मोताज तार्बिनले बताउनुभयो । अरु अरब मुलुकले सिरियामाथि के कस्तो व्यवहार गर्दछन् अहिल्यै भन्न नसकिने मोताजको भनाइ छ ।

युएई र बहराइन छ राष्ट्र सम्मिलित “गल्फ कोअपरेसन काउन्सिल”मा सदस्य छन् । यो काउन्सिलले सन् २०१२ देखि नै सिरियामाथि कडा कदमको माग गरिआएका छन् र सिरियाका विपक्षीहरुलाई मद्दत गरिरहेका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !