८ मंसिर २०८१, शनिबार

दुई सन्तानको अभियानमा चेपाङ


Nepalpatra

१२ पुस, रत्ननगर । कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखापर्नुभयो । उहाँको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुग्नुभएको हो ।

“धेरै बच्चा जन्माएर के गर्नु, कमाई राम्रो छैन, घर खर्च चलाउनै मुस्किल छ”, उहाँले भन्नुभयो, “दुई सन्तान, ईश्वरका बरदान हुन्, त्यसैले शिविरमा केही परामर्श पाइन्छ कि भनेर आएकी हुँ ।”

सिद्धि क्षेत्र निवासी गणेश लामाको चार वर्षीया छोरी छिन् । “धेरै सन्तान जन्माउने बस्ती भनेर पहिला चिनिन्थ्योे”, उहाँले भन्नुभयो, “अब सानो परिवार भएको बस्ती भनेर चिनाउनै पर्छ, हामीजस्ता युवाले यो सन्देश दिन लागेका छौँ ।”

साविकको सिद्धि क्षेत्रमा एकै परिवारमा १८ जनासम्म बालबच्चा एउटै दम्पती भएका उदाहरणसमेत छ । “नयाँ पुस्ता सानो परिवार बनाउने अभियानमा छन्”, आधारभूत विद्यालय कल्याणचौरका प्रधानाध्यापक दिनेश प्रजाले भन्नुभयो, “ पहिला चेतना नभएकाले रोग लागेर मर्ने डरले धेरै सन्तान जन्माउने प्रचलन थियो तर यो अवस्थामा सुधार आएकोे छ ।” उहाँका अनुसार सिद्धि क्षेत्रमा मात्रै करीब २५० जनाले कक्षा १० सम्मको पढाइ पूरा गरिसकेका छन् । “शिक्षित जनशक्ति तयार भएपछि अहिले थोरै सन्तान बनाउने परिवार बन्न थालको र मृत्युदर तथा जन्मदरमा पनि कमी आएको प्रधानाध्यापक प्रजाले बताउनुभयो ।

रेन्तेस गाउँका अगुवा मानबहादुर प्रजा परिवार नियोजन गर्न नमान्ने समुदाय सचेत बन्दै जान थालेको बताउनुभयो । “थोरै सन्तान चाहने दम्पती धेरै छन्, वडातहमै परिवार नियोजनबारे सेवा दिन सके अझै कमी आउने थियो”, उहाँले भन्नुभयो, “बन्ध्याकरण गर्न भरतपुर जाँदा निकै सास्ती खेप्नुपर्छ, बेलाबखत गाउँमा हुने शिविरले त्यहाँसम्म जान सहज भएको छ ।”

कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले वडातहमा स्वास्थ्यचौकी नहँुदा स्थानीयवासीवासीले निकै सास्ती खेप्नुपरेको बताउनुभयो । चेतनास्तरमा सुधार भएपनि स्वास्थ्य सेवा लिन सास्ती खेप्नुपर्ने भएकाले स्वास्थ्यचौकी र एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य आफूले लिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल परिवार नियोजन सङ्घका सदस्य निर्मल पौडेलले शिविरमा १६ महिलाले स्थायी बन्ध्याकरण तयार बताउनुभयो । “थोरै सन्तान सबैको चाहना बनेको छ”, उहाँले भन्नुभयो, “घरसल्लाह गरेर बन्ध्याकरण गर्ने प्रतिबद्धता गरेका छन्, आवश्यक परे निःशुल्क सेवा दिन पनि तयार छौँ ।”

सो अवसरमा ४० जनालेपाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए । “जोखिम अवस्था भेटिएन, सामान्य संक्रमण हुने धेरै आए”, विपी मेमोरिल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम तथा नियन्त्रण विभागका वरिष्ठ नर्स अयोध्या पाठकले भन्नुभयो, “बेलाबखत स्वास्थ्य जाँच गर्न नपाएको गुनासो गर्ने धेरै थिए, शिविरलाई अभियानका रुपमा चलाउन सके सम्भावित जोखिम कम गर्न सकिनेछ ।” सो अवसरमा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा करीब १५० जनाको आँखा परीक्षणसमेत गरिएको थियो ।

न्यानो साटे

भरतपुर क्षेत्रका महिलाको नेतृत्वमा बनेको स्पन्दन नेपालले कालिका–११ रन्तेसमा न्यानो साटेको(न्यानो कपडा उपलब्ध गराएको) छ । आधारभूत विद्यालयमा कक्षा ४ सम्म अध्ययनरत ६९ बालबालिकालाई उक्त संस्थाले ट्र्याकसुट उपलब्ध गराएको हो ।

“गत वर्षको सहयोगलाई निरन्तरता दिएका हौँ”, संस्थाकी अध्यक्ष विमला दाहालले भन्नुभयो, “पढाइमा प्रोत्साहन दिन र फजुल खर्चलाई कटौती गरेर सामाजिक काममा लगाउन यो संस्थाले सक्रियता बढाइरहेको छ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !