४ जेष्ठ २०८१, शुक्रबार

विकृतिविरुद्ध अभियान


Nepalpatra

११ पुस, बागलुङ । ताराखोला गाउँपालिकाले सामाजिक विकृतिविरुद्ध अभियान थालेको छ ।

विकृति हटाएर सभ्य र न्यायपूर्ण समाज निर्माण गर्ने अभियानको उद्देश्य छ । सामाजिक विकृति नियन्त्रण तथा न्यूनीकरणको नीति गाउँसभाबाटै बनेको थियो । पहिलो चरणमा जनजागरणका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “ व्यापक बहस र सबै पक्षको सुझाव लिएर कार्यविधि बनाउँछौँ ।” कार्यविधिलाई कानूनकै रुप दिएर लागू गर्ने योजना गाउँपालिकाको छ ।

अभियानले घरेलु हिंसा, छुवाछूत, बालविवाह, बहुविवाह, लागुऔषध, जुवातासजस्ता सामाजिक अपराध र विकृति न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । मद्यपान, धूम्रपान, भड्किलो सामाजिक व्यवहारजस्ता विकृतिजन्य कार्यलाई पनि नियन्त्रणमा लिइने अध्यक्ष घर्तीको भनाइ थियो । सरकारी संयन्त्रका साथै स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था, विद्यालय, आमा समूह, क्लबसँगको सहकार्यमा अभियान अघि बढ्नेछ । वडा अध्यक्षको नेतृत्वमा वडा तहमा सामाजिक विकृति न्यूनीकरण संयन्त्र पनि बनाउने निर्णय भएको छ ।

संयन्त्रले योजना बनाएर काम अघि बढाउने वडा नं २ का अध्यक्ष भद्र घर्तीले बताउनुभयो । “जनचेतना अभिवृद्धिमा हाम्रो मुख्य जोड रहनेछ” उहाँले भन्नुभयो, “टोल, बस्तीमा पुगेर छलफल, अन्तक्र्रिया गर्छौं ।” समृद्ध गाउँपालिकाको एउटा आधार सुसंस्कृत समाज भएकाले अभियान फलदायी हुने उहाँको विश्वास छ ।गाउँपालिकाले अभियानमा व्यक्तिगत र संस्थागत साथको प्रतिबद्धता दिलाउन सार्वजनिक ‘प्रतिबद्धता पत्र’ पनि तयार गरेको छ । यही हप्ता शुरु भएको अभियान निरन्तर चल्ने जनाइएको छ ।

भौतिकसँगै सामाजिक विकासको पाटो पनि गाउँपालिकाको प्राथमिकता पर्नु प्रशंसनीय रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो । उहाँले यस्ता अभियानमा स्थानीय प्रशासन पनि सधैँ साथ रहने उल्लेख गर्नुभयो । अभियानको आदर्श वाक्य ‘सभ्य, आधुनिक र न्यायपूर्ण समाज निर्माण गरौँ, ताराखोला गाउँपालिकामा सामाजिक विकृति उन्मूलन गरौँ’ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !