७ मंसिर २०८१, शुक्रबार

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ : मुख्यमन्त्री राई


sherdhan-rai

६ पुस, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताउनु भएको छ ।

मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उहाँले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गर्नुभयो ।

मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाइ हुने भन्दै विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य प्रारम्भ भइसकेको छ भन्नुभयो ।
उहाँले विराट ट्रेड एक्स्पोले यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन थप टेवा दिने चर्चा गर्दै व्यापार र उद्योगलाई बढावा दिने विराटनगर किमाथाङ सडकको २३ किमी ट्र्याक खोल्न मात्र बाँकी रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले व्यापार मेलाले यस प्रदेशमा कृषि, पर्यटन र उद्योगको क्षेत्रमा थप प्रेरणा मिल्ने धारणा राख्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक छ भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले राजनीतिक क्रान्तिपछि अब नैतिक क्रान्तिको आवश्यकता औँल्याउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योग र व्यापारका क्षेत्रमा लागेका मानिसलाई हौसला प्रदान गर्न सरकारी कामकाज सरल हुनुपर्नेमा जोड दिनुभयो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारदाको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योगी मोति दुगडले पनि विराट एक्स्पोको महत्व माथि प्रकाश पार्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !