७ बैशाख २०८१, शुक्रबार

सिरियामा आईएसविरुद्धको कारबाहीमा १६ को मृत्यु


syria-master

बेरुत, २ भदौ । सिरियाको प्रान्तीय राजधानी राकामा इस्लामिक स्टेट्स समूहलाई लक्ष्यगरी बिहीबार गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि १६ जना सर्वधारण मारिएका छन् ।

सिरियामा शान्तिवार्ताको कुनै सम्भावना नदेखिँदा केही दिनयता पुनः सिरियाली सैनिकले आईएसका विरुद्ध भन्दै स्थलगत तथा हवाई कारबाही थालेको छ । पछिल्लो समयमा सिरियाली सेनाले कारबाहीलाई सशक्त बनाएको छ । सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्यान जाने गरेको बताइएको छ । बिहीबार भएको कारबाहीमा परी १६ जना सर्वसाधारण मारिएका छन् । तर सेनाले भने सो कारबाहीमा आईएसका लडाकू नै मारिएका जनाएको छ ।

सो हवाई आक्रमणमा छ बालबालिकासहित १६ सर्वसाधारणको मृत्यु भएको मानवअधिकावादी समूहले बिहीबार अपराह्न जानकारी दिएको छ । यस आक्रमणमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएका र तीमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सिरियामा रहेका मानवअधिकारवादी समूहले कारबाहीका क्रममा सेनाले ज्यादति गरेको पनि बताएको छ । रसियाली समर्थक सेनाबाट भएको यस हवाई आक्रमण आईएस लक्षित रहेको बताइएको छ । तर त्यसमा परी आईएसका कुनै लडाकू भने हताहत भएका छैनन् ।

जिहादीहरूको आक्रमणमा गत शनिबार र आइतबार सिरियाको राजधानी दमासकसमा ४० भन्दा बदी सैनिक मारिएका छन् । त्यसयता सिरियाली सेनाले पनि आईएसविरुद्ध भन्दै कारबाही गरिरहेको छ । सोमबारको यस आक्रमणबाट सर्वसाधारण हताहत भएका यहाँको मानवअधिकारवादी संस्थाले जनाएको हो । रासस/एएफपी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !