१० मंसिर २०८१, सोमबार

किमसँग जनवरी वा फेब्रुअरीमा भेट हुन्छ : ट्रम्प


डोनाल्ड ट्रम्प

१६ मङ्सिर, वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताउनुभएको छ ।

सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पले शनिबार बताउनुभएको हो ।

अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको समूह (जी–२०) बैठकबाट स्वदेश फर्कनेक्रममा विमानभित्रै पत्रकारहरुसँग कुरा गर्दै उहाँले गत जुनमा सिङ्गापुरमा किमसँग भएको शिखर बैठकको निरन्तरताका लागि अर्को बैठकको तयारी भइरहेको जानकारी दिनुभयो ।

“शिखर बैठकका लागि तीनवटा सम्भावित ठाउँका बारेमा प्रारम्भिक छलफल भएको छ, तर टुङ्गो लागेको छैन,” राष्ट्रपति ट्रम्पले भन्नुभयो ।

गत जुनमा सिंगापुरमा भएको ट्रम्प र किमको पहिलो ऐतिहासिक बैठकपछि कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरणका सन्दर्भमा केही कामहरु भएका छन् ।

सिंगापुर बैठकका क्रममा व्यक्त प्रतिबद्धता बमोजिम उत्तर कोरियाले आणविक तथा व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम त्याग्ने सङ्केत स्वरुप केही ठोस कार्य गरेको देखाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नोभेम्बरको शुरुमै उत्तर कोरियाका वरिष्ट अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको थियो । उत्तर कोरियाले पछिल्ला दिनहरुमा आफ्नो देशविरुद्ध लागेका प्रतिबन्धहरु फुकुवा हुनुपर्ने माग गरिआएको छ ।

शुक्रबार मात्र, ट्रम्पले जी–२० सम्मेलनका क्रममा ब्युनस आयर्समा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनसँग पछिल्लो अवस्थाका बारेमा छलफल गर्नुभएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !