५ मङ्सिर, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकका प्राकृतिक स्रोतको प्रयोग र संरक्षणका लागि थप अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को समापन कार्यक्रममा उहाँले मुलुकका बहुमूल्य खनिजको उपयोगमा विज्ञको ज्ञान र अन्तर्राष्ट्रिय अनुभवको आवश्यकता रहेकामा जोड दिनुभयो । भौगर्भिक अध्ययनबाट आर्थिक समृद्धिका लागि बहुमूल्य खनिजको उपयोग गर्न सरकार सदैव तयार रहेको उल्लेख गर्दै मन्त्री यादवले यसका लागि अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदान र मौलिक शिक्षाको खाँचो रहेको बताउनुभयोे ।
समाजका अध्यक्ष डा कविराज पौड्यालले तीन दिनसम्म चलेको सम्मेलनका क्रममा भएका छलफल र त्यसबाट निक्केका निष्कर्ष मुलुकको दिगो विकास र आर्थिक समृद्धिका लागि योजना तथा नीति बनाउन उपयोगी हुने बताउनुभयो । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवले लाखौँ जनताको जीवन आधारका रुपमा रहेको चुरे क्षेत्रको भौगर्भिक अवस्थाका बारेमा जानकारी गराउँदै संरक्षणका लागि सबैको प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य हरिराम पराजुली, समाजका उपाध्यक्ष गणेश त्रिपाठी, सम्मेलन आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद खनाल, सहसंयोजक रामप्रसाद घिमिरेलगायतले सम्मेलनका क्रममा भएका छलफलका बारेमा प्रकाश पार्दै मुलुकको विकास योजनामा त्यसको प्रयोग गर्नुुपर्नेमा जोड दिनुभयो । यही मङ्सिर ३ गतेदेखि शुरु भएको सम्मेलनमा विभिन्न १५ देशका करीब १५० भूगर्भवद्, भूवैज्ञानिक, खानी विशेषज्ञ, इञ्जीनीयरलगायत विज्ञको सहभागिता रहेको थियो । विसं २०३७ मा स्थापित समाजले भूविज्ञानसम्बन्धी सम्मेलन, कार्यशाला, गोष्ठी, तालीमलगायत कार्यक्रम गर्दै आएको छ ।