७ आश्विन २०८१, सोमबार

सहयोगी दाताकै भरमा बालगृह सञ्चालन


Nepalpatra

५ मङ्सिर, उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ७ मा अवस्थित नमूना बालगृह सहयोगी दाताकै भरमा सञ्चालन भइरहेको छ । स्थानीयस्तर र देशविदेशमा रहेका सहयोगी दाताका भरमा चलिरहेको बालगृहमा सरकारी सहयोग पुगेको छैन । सो बालगृह अहिले प्रदेश नं १ कै उत्कृष्ट बाल गृहका रुपमा रहेको छ ।

विसं २०५७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय वृद्ध अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर स्थापना भएको सो गृहमा हाल ४६ बालबालिका आश्रित छन् । समाजसेवाप्रति उत्साहित स्थानीयवासी मीनादेवी बरालको सोच र स्थानीय मनकारी सहयोगी दाताको लगावका कारण नै सो बालगृह स्थापना भएको थियो । बालगृहको स्थापनाका लागि उर्लाबारी–६ स्थित राधिका माविले चार कट्ठा जग्गा उपलब्ध गराएको थियो भने स्थानीयवासी समाजसेवी सर्वलाल धिमालले २ कट्ठा जग्गा प्रदान गर्नुभएको थियो । सो बालगृहका लागि स्थानीयवासी पूर्वमेजर हर्कबहादुर राई, अनन्त बराल, शोभित निरौला, हेमराज न्यौपाने, कालीमाया श्रेष्ठ, खड्गकुमारी ढुङ्गानालगायतले १४ कट्ठा जग्गा प्रदान गर्नुभएको थियो । हाल एक बिघा क्षेत्रफलमा बालगृह रहेको छ ।

सो बालगृह चार कोठाको दुईतले भवन, चार कोठाको पक्की दुईतले भवन, दुई कोठा व्यवस्थित भान्साघर, जस्ताको छानो लगाइएको पक्की संरचनाकै गाईगोठ रहेको छ । बालगृहले भारतीय दूतावासले प्रदान गरेको एउटा एम्बुलेन्स सञ्चालन गरेको छ । बालगृहका बालबालिका बिरामी पर्दा सो एम्बुलेन्समा अस्पताल लैजाने गरिन्छ । शुरुमा विसं २०५८ मा बालगृह सञ्चालक समितिले सप्ताह पुराण आयोजना गरी एक कोठाको भौतिक संरचना निर्माण गरेपछि स्थानीय सहयोगी दाताको आर्थिक सहयोगमा गृहको भवन निर्माण गरिएको थियो । काखे शिशुदेखि मावि तहसम्म पढ्ने ४६ बालबालिकाले बराललाई ‘आमा’ भनेर बोलाउने गर्छन् । बराल बिहानदेखि रातिसम्मै तिनै बालबालिकाको हेरचाहमा खटिनुभएको छ ।

“बालबालिकाको हेरचाहमा लागेको १६ वर्ष नै बित्यो”, बरालले रासससँग कुरा गर्दै भन्नुभयो, “मनकारी सहयोगी दाताकै भरमा हालसम्म बालगृह चलिरहेको छ ।” विसं २०२२ मा १० वर्षकै उमेरमा विवाह गर्नुभएका बरालका आफ्नो सन्तान छैनन् । एक त सानै उमेरमा विवाह, त्यसमाथि श्रीमान्ले अर्को श्रीमती थपेपछि बाध्य भएर बराल समाजसेवामा लाग्नुभएको हो । आफूले सानैमा विवाह गर्दा भोगेका पीडालाई सम्झिएर अरु अनाथ बालबालिकाले त्यस्तो पीडा भोग्नु नपरोस् भन्ने उद्देश्यले उहाँको मनमा बालगृह स्थापना गर्ने सोच पलाएको थियो । गृहमा विकट कर्णाली प्रदेशको दैलेखदेखि पूर्वका सुनसरी, मोरङ, झापा, लगायत जिल्लाका बालबालिका आश्रित छन् ।

पछिल्लो समय बालगृहमा जन्मदिन र चाडपर्व मनाउन आउनेको सङ्ख्या बढ्दै गएको छ भने केही मनकारी दाताले बालबालिकाको शिक्षाका निमित्त आर्थिक सहयोग पनि गर्दै आउनुभएको छ । बराल आफैँ बालगृह सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएको छ । बालगृह सञ्चालन गर्न वार्षिक रु १८ लाख खर्च हुने गरेको बालगृह सञ्चालन समितिका सचिव जीवन घिमिरे बताउनुहुन्छ । “खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा, लत्ताकपडालगायतमा मासिक रु एक लाख ५० हजारभन्दा बढी रकम खर्च हुन्छ”, सचिव घिमिरेले भन्नुभयो “सहयोगी दाता र ऋणपानकै भरमा बालगृह चलिरहेको छ ।” अध्यक्ष बरालले आफ्नो सबै सम्पत्ति बालगृहका नाममा हस्तान्तरण गरिसक्नुभएको छ । बरालले प्रदान गरेको र गृहको अक्षकोषमा रहेको रकमले नजीकै एक बिघा पाँच कट्ठा जग्गा खरीद गरिएको छ । सो जग्गामा नमूना कृषि फार्म दर्ता गरी सञ्चालन गर्ने प्रक्रिया थालिएको छ ।

गृहमा आश्रित बालबालिका केही नगरमै रहेका निजी विद्यालय तथा केही सोही गृहमा रहेको नमूना सदनमा पढ्छन् । उनीहरूमध्ये केहीको शुल्क विद्यालयले छुट दिएका छन् भने केहीको बालगृहले नै व्यहोर्ने गरेको छ । गृहमा रहेको सदनमा एक सहयोगी शिक्षिकालाई मासिक रुपमा रु तीन हजारबाहेक अन्य सहयोग राज्यबाट प्राप्त नभएको सचिव घिमिरेले बताउनुभयो । स्थानीयस्तर र देशविदेशमा रहेका सहयोगी दाताका भरमा चलिरहेको बालगृहमा सरकारी सहयोग भने अझै पुग्न नसक्दा गृह सञ्चालनमै समस्या भइरहेको अध्यक्ष बराल बताउनुहुन्छ ।

राज्यबाट सहयोग प्राप्त हुन नसकेपछि सो बालगृहको दिगो आर्थिक स्रोत व्यवस्थापनका लागि अहिले ‘एक रुपैयाँबाट एक करोड’ भन्ने अभियान सञ्चालनमा ल्याइएको छ । उर्लाबारी नगरपालिकाले गत आर्थिक वर्षमा गृहको भौतिक संरचना निर्माणका लागि रु एक लाख ५० हजार सहयोग गरे पनि बालबालिकाको दैनिक जीवन चलाउनका निमित्त कुनै सहयोग नभएको अध्यक्ष बरालले गुनासो गर्नुभयो । सो गृह सञ्चालनमा रोक हुने अवस्था आउन नदिइने बताउँदै नगरपालिकाका प्रमुख खड्ग फागोले समुदायस्तरबाट सञ्चालित गृहको व्यवस्थापनका लागि थप सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !